हावाहुरीले छाना उडाएका ९४ घरधुरीलाई जस्तापाता वितरण

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार हावाहुरीपछि नगर कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय र त्यसपछि चैत ९ गतेको हिउँदे अधिवेशनले आवश्यक बजेटको व्यवस्था गरी छाना उडाएकाहरूलाई जस्तापाता वितरण गरिएको हो ।

चैत्र २२, २०८२

डम्बरसिं राई

Zinc sheets distributed to 94 households whose roofs were blown off by the storm

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । चैत २ गतेको हावाहुरीले छाना उडाएर बिचल्लीमा परेकाको घर पुननिर्माणका लागि शनिबार जस्तापाता वितरण गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडााका ११ घरधुरीलाई ४१.१ बण्डल, २ डिकुवाका १० घरधुरीलाई ३८.२ बण्डल, ३ च्यास्मिटारका ३२ घरधुरीलाई १२५.२ बण्डल, ४ बडहरेका ४ घरधुरीलाई १६.४९ बण्डल, ५ दुर्छिमका २ घरधुरीलाई ६ बण्डल, ६ मङ्गलटारका ३ घरधुरीलाई ११.६, बण्डल, ८ धितुङका १० घरधुरीलाई ३३.९ बण्डल, ७ हलेसीमहादेवस्थानका १ घरधरीलाई ४ बण्डल गरी ३१८.८९ बण्डल जस्तापाता वितरण गरिएको नगरप्रमुख विमला राईको सचिवालयले जनाएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार हावाहुरीपछि नगर कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय र त्यसपछि चैत ९ गतेको हिउँदे अधिवेशनले आवश्यक बजेटको व्यवस्था गरी छाना उडाएकाहरूलाई जस्तापाता वितरण गरिएको हो । 

प्राविधिकको रिपोर्टको आधारमा कुन घरलाई कति जस्तापाता लाग्छ भन्ने स्टिमेडको आधारमा छाना वितरण गरिएको गिरीले सुनाएका छन् । त्यस्तै उक्त नगरपालिकामा हावाहुरीले छाना उडाएका ७ विद्यालयलाई पनि जस्तापाता दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ । 

छाना उडाएका विद्यालयका लागि भने प्रदेश सरकारले समेत जस्तापाताको व्यवस्था गर्ने आश्वासन दिएकाले त्यसको पर्खाइमा बसेको गिरीले बताए । प्रदेशले जस्तापाता उपलब्ध नगराए नगरपालिका आफैंले व्यवस्था गर्ने गिरीको भनाइ छ । ‘प्रदेश मन्त्रालयले छाना उडाएको विद्यालयलाई जस्तापाता दिने भनेर आश्वासन दिएको छ, त्यही भएर पर्खेर बसेको हो’, गिरीले भने, ‘प्रदेशले नदिए नगर आफैंले छानाको व्यवस्था गर्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully