एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण

एकै सिजनमा दर्जनौं ग्रुपको भ्रमण । सगरमाथा र त्यसको फेदसम्म पुग्न नसक्ने वृद्धवृद्धा पनि यो पदमार्गमा जाने गरेका छन् । अहिले अल्पाइन ट्रेकको जर्मनी टोलीमा २० जनामध्ये ३ जना पर्यटक ७० वर्षमाथिका रहेको पर्यटन व्यवसायी दुर्गा राईले बताए ।

चैत्र २१, २०८२

भानुभक्त निरौला

Tourist attraction on the Everest Dudhkoshi Cultural Trek

What you should know

सोलुखुम्बु — तल्लो सोलुको एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण बढ्न थालेको छ । माप्यदुधकोशी गाउँपालिका स्थानीय सरकार र टानले संयुक्त रूपमा प्रवर्द्धन गरेको भर्जिन पदमार्ग पहिलो वर्षमै विदेशी पर्यटकको रोजाइमा परेको हो । अघिल्लो र यो सिजनमा मात्रै दर्जन बढी देशका समूहहरूले भ्रमण गरेका छन् ।

अघिल्लो साल मात्रै गाउँपालिकाले निर्माण गरेको पदमार्गमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले प्रवर्द्धनात्मक भ्रमण सुरु गरेर चिनारी गराएको पदमार्गमा अहिले अमेरिका, जर्मनी, भारत लगायतका देशका दर्जन बढी समूहले भ्रमण र अवलोकन गरेका छन् । समुन्द्री सतहबाट दुधकोशी नदीको कायास्थित ९ सय ४१ मिटरदेखि आरानडाँडाको भ्यु प्वाइन्ट ३ हजार ३ सय १० मिटरको उचाइसम्म फैलिएको यो पदमार्ग सबै उमेर समूह र सिजनका लागि उपयुक्त रहेको पालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

सर्वोच्च शिखर सगरमाथासहित दर्जनभन्दा बढी हिमशिखरहरूलाई नजिकैबाट अवलोकन गर्न सकिने यो पदमार्ग प्रकृति र संस्कृतिको गज्जबको संयोजन रहेकाले विदेशीहरूको रोजाइमा परेको अल्पाइन ट्रेकिङ कम्पनीका संचालक अमृत राईको भनाइ छ ।

सगरमाथा र त्यसको फेदसम्म पुग्न नसक्ने वृद्धवृद्धा पनि यो पदमार्गमा जाने गरेका छन् । अल्पाइन ट्रेकको जर्मनी टोलीमा २० जनामध्ये ३ जना पर्यटक ७० वर्षमाथिका रहेको पर्यटन व्यवसायी दुर्गा राईले बताए । सिलगुडी डाँडा, रातानाङ्गे डाँडा, कुदाम डाँफे भीर, जोरढुंगा, जलेश्वरी मन्दिर, सोलाबन, धजे डाँडा र आरान डाँडा मुख्य अवलोकन केन्द्र रहेको पालिकाका प्रवक्ता अमित राईले बताए । पदमार्गले माप्यदुधकोशीका अलावा सोलुदुधकुण्ड नगरपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका र थुलुङदुधकोशी गाउँपालिका लगायतलाई समेट्ने वडा नम्बर १ का अध्यक्ष सज्जन राईको भनाइ छ ।

६ दिनको पदयात्रामा प्रकृति र संस्कृतिले आफूहरूलाई लोभ्याएको जर्मनी पर्यटक करिना बेले बताइन् । उक्त पदमार्गमा होम स्टेहरु संचालनमा रहेको र स्थानीयले पनि आर्थिक उपार्जन र रोजगारीको क्षेत्रमा प्रत्यक्ष लाभ लिएको पालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । उनका अनुसार यो पदमार्गमा थप पर्यटकीय संरचना निर्माणको योजना पनि अगाडि बढाइएको छ ।

भानुभक्त

Link copied successfully