शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले भने, ‘पहिलो दिनको परीक्षा शान्तिपूर्वक सकियो । उत्तरपुस्तिका पनि परीक्षण सुरु भइसकेको छ ।’
धनकुटा — कोशी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणसुरु भएको छ । पहिलो दिनको परीक्षा सकिएलगत्तै उत्तर पुस्तिका संकलन तथा प्रक्रियागत कार्यपछि दिउँसोदेखि उत्तरपुस्तिका परीक्षण सुरु भएको शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
‘पहिलो दिनको परीक्षा शान्तिपूर्वक सकियो,’ उनले भने, ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।’
प्रदेशमा ३३२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । प्रदेशभर ३३२ केन्द्राध्यक्ष र ५४६ सहायक केन्द्राध्यक्ष रहेका छन् । ४ हजार ६३ जना निरीक्षक, ८१३ परीक्षा सहायकसहित ७ हजार ३६९ संख्या खटिएका छन् ।
परीक्षा सञ्चालनका लागि कुल १२ हजार ३ सय ४९ जनशक्ति परिचालन गरिएको छ । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ ।
एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजनाअनुसार परीक्षा जहाँ भएको हो, त्यहींबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको पोखरेलले बताए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । पहिलोपटक सम्बन्धित परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।
अघिल्ला वर्षहरुमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिदै आएको थियो । यसअघि एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । जसले गर्दा चैतमा लिइने एईई परीक्षाको नजिता असारमा मात्र सार्वजनिक हुने गरेको थियो ।
