यहाँका अधिकांश सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले संयुक्तरुपमा बिक्री गर्दै आएको छ ।
ताप्लेजुङ — सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आइपुगेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले मंगलबारदेखि बिक्री वितरण पनि सुरु गर्ने जनाएको छ ।
यहाँका अधिकांश सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले संयुक्तरुपमा बिक्री गर्दै आएको छ । अध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार १-५ का सबै विषयका एक हजार सेटका दरले पाठ्यपुस्तक सदरमुकाम सम्म ल्याइएको छ ।
कक्षा ६–१० का पाठ्यपुस्तक पनि एकदुई दिनभित्रै आइपुग्ने भट्टराइले जानकारी दिए । सदरमुकामबाट भने विद्यालय स्वयंले ढुवानी गरेर विद्यालयसम्म लैजानुपर्ने छ ।
भौगोलिक हिसावले विद्यालयमा पुर्याउन चार/पाँच दिनसम्म लाग्ने भएकाले समयमै पुस्तक ल्याइएको भट्टराईले बताए । हरेक वर्ष यहिबेला देखि बिक्री गर्ने भट्टराई बताउँछन् ।
कक्षा १ को एक सेटको मूल्य ४२०, कक्षा २ को ५५६, कक्षा ३ को ५८०, कक्षा ४ को ६०२ र कक्षा ५ को ६३३ रुपैयाँ निर्धारण गरिएको छ । यसका अतिरिक्त हरेक सेटमा ८० पैसा रहेको छ ।
एक दशकअघिदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले सामुदायिक विद्यालयका पाठ्यपुस्तक संयुक्त रूपमा बिक्री गर्दै आएका छन् ।
