झापामा एक व्यवसायी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्, पाँच दिनको म्याद थपेर अनुसन्धान जारी छ।
झापा — एक किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा झापाका एक व्यवसायी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत ३ गते दिउँसो करिब १ः१५ बजे मेचीनगर नगरपालिका–१४, पाथिभरा टोलकी एक किशोरीमाथि बिर्तामोड निवासी ६२ वर्षीय प्रदीप मित्तलले बलात्कार प्रयास गरेका थिए।
ती किशोरीले मित्तलविरुद्ध चैत १६ मा जबरजस्ती करणी उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन्।
घटनापछि फरार रहेका मित्तल सोमबार आफैं इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएका थिए। त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जबरजस्ती करणी उद्योग कसूरमा मुद्दा दर्ता गराएको छ। जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
