खोटाङमा बाँदरपीडित किसानको प्रदर्शन

बाँदरले बालीनालीमा क्षति पुर्‍याएकाले समाधानको माग गर्दै कृषि औजारसहित प्रदर्शन गरेका हुन्।

चैत्र १६, २०८२

डम्बरसिं राई

Demonstration by farmers affected by monkeys in Khotang

खोटाङ — जिल्ला सदरमुकाम दिक्तेलमा बाँदर पीडित किसानले सोमबार प्रदर्शन गरेका छन् । बाँदरले कृषिजन्य वस्तुमा क्षति पुर्‍याएकाले त्यसको समाधान गर्न माग गर्दै कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले दिक्तेलको हुलाकडाँडास्थित जेष्ठ नागरिकको कार्यालयबाट हलो, जुवा, दाँते, कोदालोलगायतका कृषि औजारसहित प्रदर्शन गरेका हुन् । किसानहरुले प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । बाँदर आतंकले भाेकै हुने अवस्था आएको भन्दै नियन्त्रणको माग गर्दै ज्ञापन बुझाएका हुन् ।  

बाँदरका कारण फलफूल, तरकारी, खाद्यान्नलगायतका बाली–नाली नष्ट गरी खेतीयोग्य जमिन बाँझै रहनुका साथै बसाइँ सुर्नुपर्ने बाध्यतामा पुगेकाले प्रदर्शनमा उत्रिन बाध्य भएको स्थानीय दुर्गाप्रसाद घिमिरेले बताए ।

आफूहरुले सरकारले वितरण गर्ने अनुदान, सिँचाइ, औजार–उपकरण जस्ता कृषि क्षेत्रका कार्यत्रमको उचित कार्यान्वयनका लागि ध्यानाकर्षण पनि गराइएको घिमिरेले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully