फागुन ८ देखि हराइरहेका तेह्रथुमका यमराज लिम्बू ताप्लेजुङमा मृत भेटिएका हुन् ।
ताप्लेजुङ — फागुन ८ देखि हराइरहेका तेह्रथुमको म्याङलुङ नगरपालिका-१ गैरीगाउँका ४० वर्षीय यमराज लिम्बू ताप्लेजुङमा मृत भेटिएका छन् । फक्ताङलुङ गाउँपालिका-२ मेथेन खोलामा उनको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवका अनुसार लिम्बू ताप्लेजुङको फक्ताङलुङ-५ मा रहेको अपर तमोर हाइड्रोपावर कम्पनीमा काम गर्थे । ८ गते घर जान भनी कम्पनीबाट हिँडे पनि घर नपुगेपछि परिवारले खोजतलासका लागि चैत १ गते प्रहरीमा हुलिया निवेदन दिएका थिए । खोजतलासको क्रममा बगिरहेको खोलामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।
तर, सडेगलेको अवस्थामा भएकाले बायाँ हातमा 'ओम्' लेखेको ट्याटुबाट शव उनकै हो भन्ने खुलेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । जिल्ला अस्पताल ल्याइएको शवको पोस्टमार्टम गरी परिवारलाई बुझाउने र आवश्यक अनुसन्धान प्रक्रिया जारी राख्ने प्रहरी कार्यालयले जनाएको छ ।
