कोशीमा एसईईका ८० हजार ९ सय परीक्षार्थी, १२ हजार ३ सय जनशक्ति परिचालन गरिँदै

शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

चैत्र १६, २०८२

रमेशचन्द्र अधिकारी

80,900 SEE examinees in Koshi, 12,300 manpower being mobilized

What you should know

धनकुटा — कोशी प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुने भएका छन् । 

शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आगामी बिहीबारदेखि चैत २९ सम्म सञ्चालन हुने परीक्षामा कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङबाट १८ हजार १ सय ३५ र सबैभन्दा कम तेह्रथुमबाट १ हजार ५ सय ४५ परीक्षार्थी छन् ।

झापाबाट १७ हजार ४ सय ८४, सुनसरी १३ हजार ९ सय ७८, उदयपुरबाट ५ हजार ७ सय १० र इलामबाट ३ हजार ८ सय २६ परीक्षार्थी छन् । यस्तै, भोजपुरबाट २ हजार ८ सय ८९, पाँचथर र संखुवासभाबाट समान २ हजार ८ सय ४९, धनकुटाबाट २ हजार ६ सय ३६, ओखलढुंगाबाट २ हजार २ सय १५ खोटाङबाट २ हजार ८ सय ५७, ताप्लेजुङ २ हजार ९ तथा सोलुखुम्बुबाट १ हजार ६ सय ३६ परीक्षार्थी सामेल हुने जनाइएको छ ।  
अनुगमन, सुपरिवेक्षण तथा उत्तरपुस्तिकालगायतको तयारी पूरा भएको शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए । 

परीक्षा सञ्चालनका लागि निर्देशानालयमार्फत ५ करोड ४० लाख बजेट विनियोजन भएको निर्देशक पोखरेलले जानकारी दिए । ‘परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने, ‘परीक्षालाई मर्यादित बनाउन हामी सक्रिय रुपमा लाग्ने छौं ।’ परीक्षामा प्राविधिकधार र साधारण गरी दुई प्रकारका विद्यार्थी सामेल रहने छन् । प्राविधिक धारतर्फ ३ हजार १ सय ५८ परीक्षार्थी रहेका छन् । 

१२ हजार ३ सय बढी जनशक्ति परिचालन
एसईई सञ्चालन गर्न प्रदेशभरी १२ हजार ३ सय ४९ जनशक्ति परिचालन गरिने भएको छ । प्रदेशमा ३ सय ३२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा ३ सय ३२ केन्द्राध्यक्ष र ५ सय ४६ सहायक केन्द्राध्यक्ष रहेका छन् । ४ हजार ६३ जना निरीक्षक, ८ सय १३ परीक्षा सहायकसहित ७ हजार ३ सय ६९ संख्या खटिने निर्देशक पोखरेलले बताए ।  

सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पुगिसकेको छ भने तयारीको लागि ओरिन्टेशनलगायतका कार्य सम्पन्न भइसकेको जनाइएको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully