सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको आरोपमा उनलाई मन्त्रालयमा तानेको हो।
What you should know
सुनसरी — सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) का कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको छ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको आरोपमा उनलाई मन्त्रालयमा तानेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीले गरेको छड्के अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराइएको भेटिएपछि सत्याललाई मन्त्रालयमा तानिएको मन्त्रालयले जनाएको छ।
सवारी चालक अनुमति पत्र लिँदा वा नवीकरण गर्दा अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षणमा सेवाग्राहीसँग पैसा लिएर फेल भएका व्यक्तिलाई पास गराउने गरेको आरोप उनीमाथि लागेको छ। यस विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएपछि मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा यातायात व्यवस्था कार्यालय लाइसेन्स कोशीमा छड्के अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा अनियमितता पुष्टि भएपछि सत्याललाई मन्त्रालय तानिएको आन्तरिक मामिला तथा कानून मन्त्री ईन्द्रमणि पराजुलीले जानकारी दिए।
अनुगमन टोलीले कार्यालय प्रमुख सत्यालको कार्यकक्षको दराज समेत सिल गरेको छ। मन्त्री पराजुलीले भने, 'पटक–पटक मौखिक रूपमा सचेत गराएका थियौं । सचेत गराउँदा पनि नसुध्रिएपछि छड्के अनुगमन गर्नुपरेको हो ।'
यातायात व्यवस्था कार्यालयहरूमा स्वास्थ्य परीक्षणको नाममा आर्थिक लाभ लिने गुनासो बढेपछि गएको साउनदेखि मन्त्रालयले आफैं डाक्टर (चिकित्सक) नियुक्त गर्ने व्यवस्था गरेको थियो। अस्थायी दरबन्दी सिर्जना गरी काेशी प्रदेशको तराईका तीन जिल्लाका यातायात कार्यालयमा डाक्टर खटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा २, इटहरीमा २ र विराटनगरमा १ जना विशेषज्ञ चिकित्सक नियुक्त गरिएका छन्। ती डाक्टरहरूले सवारी चालक अनुमति पत्र लिन तथा नवीकरण गर्दा आवश्यक स्वास्थ्य रिपोर्ट दिने व्यवस्था गरिएको छ।
यता कार्यालय प्रमुख सत्यालले भने आफूविरुद्ध लगाइएको आरोप निराधार भएको दाबी गरेका छन्। उनले यातायात कार्यालयमा लामो समयदेखि रहेको स्वास्थ्य परीक्षणसम्बन्धी समस्यालाई सुधार गर्ने प्रयास गरेको बताउँदै सेवाग्राहीलाई असहज नहोस् भनेर आफूले 'रिचेक' लेखिदिने गरेको र सोही विषयलाई आधार बनाएर आरोप लगाइएको बताए। मन्त्रालयले भने घटनाबारे थप अध्ययन भइरहेको जनाएको छ।
