दुहबीमा १८ करोड ३५ लाख लागतको फोहोर प्रशोधन केन्द्र शिलान्यास

यो केन्द्र निर्माण भएपछि फोहोरको वर्गीकरण, पुनःप्रयोग (रिसाइक्लिङ) र सुरक्षित व्यवस्थापनमा सहजता आउनेछ ।

चैत्र १५, २०८२

अर्जुन सुवेदी

Foundation stone laid for Rs 183.5 million waste treatment center in Duhabi

What you should know

सुनसरी — सुनसरीको दुहबी नगरपालिकामा फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित आधुनिक फोहोर प्रशोधन केन्द्र (वेस्ट म्यानेजमेन्ट सेन्टर) निर्माण कार्य सुरु गरिएको छ । 

नगरपालिकाले आइतबार उक्त परियोजनाको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र भारतीय राजदुतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरेका छन् । ‘कन्स्ट्रक्सन अफ वेस्ट म्यानेजमेन्ट सेन्टर विथ मटेरियल रिकभरी फ्यासिलिटी एण्ड इक्विपमेन्ट सप्लाई’ नाम दिइएको यो परियोजना भारतीय दूतावास र दुहबी नगरपालिकाको सहकार्यमा सञ्चालन हुन लागेको हो ।

दुहबी–४ मा निर्माण सुरु भएको उक्त केन्द्रमार्फत नगर क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य लिइएको छ । परियोजनाको काम आगामी २ वर्षभित्र सम्मपन्न गर्ने लक्ष्य राखिएको छ । 

सिद्धार्थ दर्शन–चुरिया जेभीले ठेक्का पाएको उक्त योजनाको कुल लागत करिब १८ करोड ३५ लाख ६८ हजार रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार यो केन्द्र निर्माण भएपछि फोहोरको वर्गीकरण, पुनःप्रयोग (रिसाइक्लिङ) र सुरक्षित व्यवस्थापनमा सहजता आउनेछ । यसले वातावरण संरक्षणसागै नगरको सरसफाइमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसअघि गत कात्तिकमा फोहोर प्रशोधन केन्ऽलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड ३५ लाख ६८ हजार रुपैयाँ लगानीका लागि सम्झौता भएको थियो । सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख गच्छादार सहभागी थिए ।

सोही सम्झौता अनुसार केन्द्रको आइतबार शिलान्यास गरिएको नगरप्रमुख गच्छादारले बताए । गच्छदारले २०४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परियोजनाको लगानी आएको बताए । भारतीय राजदूतावासका प्रथम सचिव सिंहले यो परियोजना उच्च प्रभावकारी सामुदायिक विकास कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागेको बताए । 

अर्जुन

Link copied successfully