२ करोड ८९ लाख, ७५ हजार २ सय ८८ रूपैयाँको लागतमा रावाबेसी गाउँपालिका–१ कुभिण्ड र ६ हौचुरको बीचमा पर्ने लोचा खोलामा मोटरेबल पुल निर्माण हुन लागेको हो ।
खोटाङ — लोचा खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २ करोड ८९ लाख, ७५ हजार २ सय ८८ रूपैयाँको लागतमा रावाबेसी गाउँपालिका–१ कुभिण्ड र ६ हौचुरको बीचमा पर्ने लोचा खोलामा मोटरेबल पुल निर्माण हुन लागेको हो ।
उक्त पुलको ठेक्का आरके देन्धुप जेभी सोलुखुम्बुले लिएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ। २०८४ जेठ ३१ भित्र सक्ने गरी २०८२ माघ १३ मा सम्झौता भएको थियो ।
कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार पुलको शिलान्यास गरेका हुन् ।
उक्त पुल क्रमागत बजेटमा निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए । उक्त पुलका लागि चालु आर्थिक वर्ष १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी बजेट आगामी आर्थिक वर्षमा उपलब्ध गराइने दाहालले बताए ।
