कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला, श्रीमान् पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेका अनुसार प्रारम्भिक सोधपुछमै रोशनले श्रीमतीको हत्या स्वीकारेका छन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Woman's body found with hands and feet tied under culvert, husband arrested

विराटनगर — गत चैत ५ गते रातिदेखि ‘बेपत्ता’ भनिएकी ३२ वर्षीया कोमलकुमारी साह मंगलबार साँझ विराटनगर-१७ स्थित एउटा फोहोर बग्ने कल्भर्टमुनि मृत फेला परेकी छिन् । उनको शव सडेको र सल र साडीले हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको हो । 

विराटनगर-१५ की ३२ कोमल कुमारी हराएको दुई दिनपछि श्रीमान् रोशन साह चैत ७ मा जिल्ला प्रहरी कार्यालय पुग्छन् । तर, उनी प्रहरीलाई अलमल्याउने प्रयास गर्छन् । कहिले तस्बिर ल्याउन भुलेको बहाना गर्छन् त कहिले श्रीमती अन्य पुरुषसँग भागेको हुन सक्ने आशंका । उनको शंकास्पद व्यवहारले प्रहरीलाई सुरुदेखि नै झस्काउँछ । मंगलबार साँझ जब हातखुट्टा बाँधिएको अवस्थामा शव फेला पर्‍यो, चुरा र औंठीका आधारमा कोमलको पहिचान खुल्यो । त्यसको केही बेरमै प्रहरीले रोशनलाई घरबाट नियन्त्रणमा लियो । 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेका अनुसार प्रारम्भिक सोधपुछमै रोशनले श्रीमतीको हत्या स्वीकारेका छन् । 

सामाजिक सञ्जाल ‘टिकटक’ मा श्रीमतीले परपुरुषसँग च्याट गरेको र भिडियोमा लाइक गरेको  रोशनले फेला पारेका थिए । त्यही विषयमा दम्पतीबीच लामो समयदेखि खटपट चल्दै आएको कुरा प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । त्यही कारण घाँटी थिचेर हत्या गरेपछि प्रमाण मेटाउन शवलाई जुटको बोरामा राखेर कल्भर्टमुनि फालिएको प्रहरीको दाबी छ । 

प्रहरीका अनुसार शवको अवस्था र रोशनको बयान मेल खाएको छ । उनले परपुरुषसँगको सम्बन्धकै शंकामा हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी लामिछानेले बताए । ‘हामी अहिले पोस्टमार्टम रिपोर्ट र प्राविधिक प्रमाण (कल डिटेल) संकलनमा केन्द्रित छौं,’ उनले भने । 

कान्तिपुर

Link copied successfully