प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको यकिन विवरण अझै सार्वजनिक भएको छैन ।
सुनसरी — सुनसरीको इटहरीस्थित धरान लाइनमा रहेको पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको यकिन विवरण अझै सार्वजनिक भएको छैन । आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।
यता, इटहरी उपमहानगरपालिकाका दुवै दमकल जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेर नष्ट भएपछि अहिले नगरमा दमकल अभाव देखिएको छ । आन्दोलनपछि पनि दमकल व्यवस्थापन हुन नसकेको भन्दै स्थानीयवासी असन्तुष्ट देखिएका छन् ।
