पाथीभराबाट फर्कने क्रममा बालकको मृत्यु

सरोकारवालाले भने : मौसम प्रतिकूल भएकाले सावधानी अपनाएर यात्रा गरिदिनुहोस्

चैत्र १०, २०८२

आनन्द गौतम

Child dies while returning from Pathibhara

ताप्लेजुङ — पाथीभराबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या भई एक बालकको ज्यान गएपछि पाथीभरा क्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालय ताप्लेजुले स्वास्थ्यमा समस्या देखिए तुरुन्तै स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन् । हिलिहाङ गाउँपालिका-२ पाँचथरका ३० महिनाका सोहन श्रेष्ठको पाथीभरा दर्शन गरेर फर्कने क्रममा सोमबार मृत्यु भएपछि प्रहरी र क्षेत्र विकासले यस्तो आग्रह गरेका हुन् । 

‘बालबालिकादेखि ठूला तीर्थयात्रामा स्वास्थ्यसम्बन्धी समस्या आए माथिल्लो फेदीमा रहेको प्राथमिक उपचार केन्द्र, प्रहरी चौकी वा काफ्लेपाटी रहेको पर्यटक प्रहरी सहायता डेस्कमा तत्काल सम्पर्क गर्न आग्रह गर्दछौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक  टाशङ्कर यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पाथीभरामा चिसोका कारण बिरामी हुने र ज्यानै जाने गरेका घटना अरू पनि हुने गरेको छ । 

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे माथिल्लो फेदीमा अहेवको नेतृत्वमा स्वास्थ्यकर्मी राखिएको र क्षेत्र विकास समितिका कर्मचारीले पनि कोही समस्यामा परे सहयोग गर्ने गरेको बताउँछन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य, सुरक्षा तथा आपत्कालीन सेवामा थप प्रभावकारी व्यवस्था गर्ने समितिले जनाएको छ ।

‘हालको मौसम तथा उचाइका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिरामी, अशक्त, साना बालबालिका र वृद्ध अवस्थामा पुग्नुभएका महानुभावहरूले विशेष सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ,’ क्षेत्र विकास समितिद्वारा जारी सूचनामा भनिएको छ, ‘आवश्यक स्वास्थ्य तथा सुरक्षा सम्बन्धी समस्या आए काफ्‌लेपाटी र फेदीमा रहेको प्रहरी पोस्ट तथा फेदी स्थित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।’ 

सोमबार पाथीभरा दर्शनका लागि गएका बालक आफन्तसँग फर्कने क्रममा बिरामी भएका थिए ।श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो । चिकित्सकले अस्पताल पुऱ्याउँदा गम्भीर अवस्थामा पुगेको सन्देश दिएका थिए । अस्पतालमा आधा घण्टा उपचारपछि मृत घोषणा गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । बालकलाई पहिला पनि निमोनिया हुने गरेको र पाथीभराबाट फर्काइँदा निमोनियाको समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully