चैत १३ सम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाका पालिकाका टीम सहभागी हुँदैछन् ।
धनकुटा — हरेक वर्ष रामनवमी पर्वका अवसरमा धनकुटाको हिलेमा सञ्चालन हुँदै आएको रामनवमी कप भलिबल प्रतियोगिताको १८ औं संस्करण मंगलबारदेखि सञ्चालन हुँदैछ ।
प्रतियोगिता कोशी प्रदेशभरिका पालिकाहरु सहभागी हुँदैछन् । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने छ । यस्तै, उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउने क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए ।
खेलमैदान व्यवस्थापन, खेलाडी, रेफ्रीलगायतका सबै तयारी पूरा भएको आयोजक हिले भलिबल क्लबले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न नौ वटा स्थानीय तहले सहभागिता जनाउने भएका छन् ।
धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको आमचोक, अरुण, रामप्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगिताका सम्पूर्ण सहभागी टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमलाई समेत प्रतिटिम १५ हजार रुपैयाँबाट पुरस्कृत गरिने भएको छ । विधागत पुरस्कारतर्फ पनि नगद र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने छ ।
धनकुटा नगरपालिका, वडा कार्यालयलगायत विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो । २०५५ सालदेखि हिलेबजारमा भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
