समयमा कार्यालय नआउने कर्मचारीलाई वडाध्यक्षले गेटमै रोके

कर्मचारीको ढिलाइले सेवा प्रवाह प्रभावित भएको भन्दै वडाध्यक्ष नविनकुमार बान्तवा राईले ११ः०० बजेभन्दा ढिलो आउने कर्मचारीलाई गेटमै रोकिदिएका हुन् ।

चैत्र ८, २०८२

भोटराज राई

Ward chair stops employee at gate for not coming to office on time

उदयपुर — समयमा कार्यालय नआउने कर्मचारीलाई उदयपुरको त्रियुगा नगरपालिका–११ का वडाध्यक्षले गेटमै रोकिदिएका छन् ।

कर्मचारी ढिला आउँदा वडाको सेवा प्रवाह प्रभावित भएको भन्दै वडाध्यक्ष नविनकुमार बान्तवा राईले ११ः०० बजेभन्दा ढिलो आउने कर्मचारीलाई गेटमै रोकिदिएका हुन् ।

वडाध्यक्षले आइतबार वडाकी कम्प्युटर अपरेटर, सामाजिक परिचालिका र कार्यालय सहयोगीलाई गेटमै रोकेका हुन् । कम्प्युटर अपरेटर ११ः०५ मा कार्यालय आएकी थिइन् भने सामाजिक परिचालिका दिउँसो १ः०० बजे आएकी थिइन् ।

कार्यालय सहयोगीले भने ढिलो आउने कर्मचारीलाई गेटमै रोकेको सूचना पाएपछि फोनमार्फत जिल्लाबाहिर रहेको जानकारी गराएको वडाध्यक्ष राईले बताए । तीनैजना कर्मचारीलाई हाजिर गर्न नदिइ नगरपालिकाको प्रशासन शाखामा पठाउने उनले बताए । 

‘वडाध्यक्षलाई अटेर गर्ने, आफूखुसी ढिला आउने प्रवृत्तिले वडाबासीको कामकाजमा अप्ठयारो परेकोले यस्तो कदम चाल्नु परेको हो,’ वडाध्यक्ष राईले भने । 

ढिलो आउने कर्मचारीलाई गेटमै रोकेर तत्काल मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी दिएको उनले बताए । उनले त्यस्ता कर्मचारीलाई कारबाही, सरुवा वा निकाला जे गरे पनि गर्नु, समयमै कार्यालय आउने कर्मचारी पठाउन समेत उनले माग गरेका छन् । कर्मचारी नहुँदा आज दिनभर वडाबाट उपलब्ध हुने सेवा प्रभावित बनेको सेवाग्राहीहरूको भनाइ छ । 

त्रियुगा नगरपालिकाका प्रशासन शाखा प्रमुख जनक ढुंगानाले उक्त वडाअध्यक्षले उठाएको कर्मचारी ढिलो आउने र सेवा प्रवाह प्रभावित बारे आवश्यक छानबिन र कारवाही हुने बताए ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully