खोटाङमा अवरुद्ध विद्युत् मर्मतपछि सञ्चालनमा

सोलुखुम्बुबाट ल्याइएको ३३ केभी प्रसारण लाइन शनिबार बेलुकी ५ बजेतिर सोलुखुम्बु र ओखलढुङ्गाको बीचमा पर्ने तिङ्ला सब–स्टेशन नजिकै बिग्रिएको थियो ।

चैत्र ८, २०८२

डम्बरसिं राई

Power outage in Khotang restored after repairs

खोटाङ — जिल्लामा अवरुद्ध केन्द्रीय प्रसारणको विद्युत् सञ्चालनमा आएको छ । सोलुखुम्बुबाट ल्याइएको ३३ केभी प्रसारण लाइन मर्मतपछि शनिबार रातिदेखि सञ्चालनमा आएको हो ।

सोलुखुम्बुबाट ल्याइएको ३३ केभी प्रसारण लाइन शनिबार बेलुकी ५ बजेतिर सोलुखुम्बु र ओखलढुङ्गाको बीचमा पर्ने तिङ्ला सब–स्टेशन नजिकै बिग्रिएको थियो । उक्त लाइन ओखलढुङ्गा वितरण केन्द्रका कर्मचारीले मर्मत गरी राति १० बजे सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बुइपा सब–स्टेशनका इन्चार्ज सुजन बास्तोलाले बताए ।

उनका अनुसार जिल्लामा वितरण गरिएको हलेसी तुवाचुङ, दिक्तेल रूपाकोट मझुवागढी, ऐसेलुखर्क, रावाबेसी, केपिलासगढी लगायतका क्षेत्रको लाइन सञ्चालनमा आएको छ । साप्सुखोला पारिका–५ गाउँपालिकामा वितरण गरिएको बागेढुङ्गा सब–स्टेशन अन्तर्गतका लाइन भने दिउँसोबाट सञ्चालनमा आउने बास्तोलाले सुनाए । 

बागेढुङ्गा सब–स्टेशनबाट साप्सुपारिका दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, बारापोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा विद्युत् लाइन जडान गरिएको छ । ५ गाउँपालिकामध्ये साकेला गाउँपालिकामा गत चैत २ गतेदेखि नै विद्युत् अवरुद्ध छ भने अन्य ४ गाउँपालिकामा भने शनिबार बेलुकीदेखि अवरुद्ध भएको बास्तोलाले बताए । 

५ वटै पालिकाको अवरुद्ध विद्युत् मर्मतपछि आइतबार दिउँसोदेखि चालु हुने बास्तोलाको भनाइ छ । ‘राती बागेढुङ्गा सश–स्टेशनसम्मको फ्रिडरमा विद्युत् जडान गर्दा लागेन, अहिले मर्मत भइरहेको छ, दिउँसोसम्म विद्युत् चालु हुन्छ,’ उनले भने, ‘मुख्य केन्द्रीय प्रसारणको लाइन बनिसकेको छ, जिल्लाभित्रको लाइन त बनिहाल्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully