पाथीभरा मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ भने यो सिजनमा आज सबैभन्दा धेरै तीर्थयात्री यहाँ आइपुगेका छन् ।
ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र हिउँले छपक्क छोपिएको छ । स्थानीयका अनुसार नवौँ पटक परेको हिउँ यो सिजनको सबैभन्दा बाक्लो हो ।
ट्रस्टभित्र समेत हिउँ छिरेकाले यात्रीलाई आवतजावतमा केही कठिनाइ भएको छ । माथिल्लो फेदीदेखि मन्दिरसम्म पैदल मार्गमा ट्रस्ट लगाइएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार यो सिजनकै सबैभन्दा बढी तीर्थयात्री पनि रहेका छन् । शनिबार १८ सयभन्दा बढी तीर्थयात्री रहेको महतले जानकारी दिए । पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको छ ।
२७ सय मिटरको तल्लो फेदी अर्थात काफ्लेपाटीदेखि ५ किलोमिटरसम्म हिँडेर जानुपर्छ । काफ्लेपाटीसम्म भने यातायातका साधन चल्छन् । ३१ सय मिटर उचाइको माथिल्लो फेदीसम्म मानवीय बस्ती अर्थात् होटल छन् । हिउँ परेर चिसो बढेको समयमा बालबालिका र वृद्धवृद्धालाई अलि बढी समस्या हुने गरेको महतले जानकारी दिए ।
धेरै तीर्थयात्री हुँदा लाइन लगाएर चाँडो गरी दर्शन गराइने पाथीभराका पुजारी टीका पौडेल बताउँछन् । पौडेलका अनुसार वृद्धवृद्धा र अशक्तलाई भने लाइन नलगाई पूजा गराइने र आगो तपाएर राख्ने व्यवस्था मिलाइएको छ । पुजारीहरू बस्ने ठाउँमा आगो बालिन्छ ।
तस्बिर सौजन्य : राजेन्द्र महत
![Pathibhara covered in snow [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pathibhara-hiu-7-2132026063339-1000x0.jpg&w=1001&h=0)