प्रतिनिधिसभामा पाँचथरबाट महिलासहित तीन सांसद 

बिहीबार समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित दुई जना सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेसँगै जिल्लाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सांसदको संख्या तीन पुगेको हो ।

चैत्र ६, २०८२

लक्ष्मी गौतम

Three MPs, including a woman, from Panchthar in the House of Representatives

पाँचथर — एउटा मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लाबाट २०१५ सालपछि पहिलोपटक महिला सांसदसहित तीनजना सांसदले प्रतिनिधिसभामा उपस्थिति जनाउने भएका छन् ।

बिहीबार समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित दुई जना सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेसँगै जिल्लाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सांसदको संख्या तीन पुगेको हो ।

यहाँबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् भने समानुपातिक प्रणालीमार्फत कांग्रेसकै भिष्मराज आङदेम्बे र एमालेकी भूमिका नेम्वाङ निर्वाचित भएकी छन् । यसअघि जिल्लाबाट संघीय संसद्‍मा कहिल्यै महिला प्रतिनिधित्व थिएन । 

राणा शासनको अन्त्यपछि २०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनमा पनि जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र थियो । त्यसबेला कांग्रेसका प्रेमराज आङ्देम्बे निर्वाचित भएका थिए ।

२०४६ को प्रजातान्त्रिक आन्दोलनपछि २०४८ र २०५६ का आम निर्वाचनसँगै २०५१ को मध्यावधि निर्वाचनमा जिल्लामा दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । त्यसबेला जिल्लाबाट संघीय सांसदमा २–२ जनाले प्रतिनिधित्व गरेका थिए ।

२०४८ मा क्षेत्र नं. १ बाट बसन्तकुमार नेम्वाङ, क्षेत्र नं. २ बाट डम्बरसिंह सम्बाहाम्फे (नेकपा एमाले) निर्वाचित भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा दिपकप्रकाश बास्कोटा (कांग्रेस) र पद्यमसुन्दर लावती (राप्रपा) निर्वाचित भए ।

२०५६को आम निर्वाचनमा पुनःएमालेका बसन्तकुमार नेम्वाङ र डम्बरसिंह सम्बाहाम्फे निर्वाचित भए । यस्तै २०६४ संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट पूर्णकुमार शेर्मा (कांग्रेस), क्षेत्र नं. २ बाट डम्बरसिंह सम्बाहाम्फे (एमाले) विजयी भएका थिए ।

२०७० संविधानसभाः क्षेत्र नं. १ बाट गणेशकुमार काम्वाङ (एमाले), क्षेत्र नं. २ बाट भिष्मराज आङदेम्बे (कांग्रेस) तथा समानुपातिक प्रणालीमार्फत श्रीप्रसाद जबेगू (माओवादी) र अइन्द्रसुन्दर नेम्वाङ (नेकपा माले)बाट संविधानसभा सदस्य भएका थिए ।

ऐतिहासिक भनिएका दुवै संविधानसभा निर्वाचनमा चारजना सदस्य निर्वाचित हुँदा पनि महिलाको प्रतिनिधित्व हुन सकेको थिएन ।

राज्यको पुनःसंरचनापछि पाँचथरलाई पुनः एउटै निर्वाचन क्षेत्रमा सीमित गरियो । त्यसपछि २०७४ र २०७९ मा यहाँबाट एमालेका बसन्तकुमार नेम्वाङ प्रत्यक्षतर्फ निर्वाचित भए, तर कुनै दलबाट समानुपातिक सांसद चयन भएनन् ।

यसअघि संघीय संसद्मा निर्वाचित सबै सांसद पुरुष मात्र थिए । यसपटक भने एमालेकी भूमिका नेम्वाङ समानुपातिक प्रणालीबाट निर्वाचित भइन् । उनी जिल्लाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने पहिलो महिला सांसद बनेकी छिन् ।

कोशी प्रदेशसभामा भने कांग्रेसकी मैया श्रेष्ठ लावती सदस्य छिन् । २०७४ मा तत्कालीन प्रदेश नं. १ बाट आशारत्न जबेगू (एमाले) र सिता थेवे (माओवादी) प्रदेशसभा सदस्य थिए ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित समीक्षा बास्कोटा र टीका संग्रौला (ज्वाला)को जन्मस्थल पनि पाँचथर नै हो । यद्यपि उनीहरू विवाहपश्चात् अन्यत्र बसाइँसराइ भएकाले जिल्लाको विकास र राजनीतिमा कुनै किसिमको सक्रियता छैन ।

पाँचथर बहुमुखी क्याम्पसका पूर्वप्रमुख गोविन्दप्रसाद गुरागाईंका अनुसार, पाँचथरबाट यति धेरै सांसद निर्वाचित हुनु चानचुने विषय होइन । निर्वाचित सांसदहरूले जिल्लाको विकास र जनताको आवश्यकता पूरा गर्नसहित कानुन निर्माणमा जिम्मेवार भएर काम गर्नुपर्ने उनको सुझाव छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully