गत चैत २ गतेको हावाहुरीले विद्युतको मेनलाइनमा क्षति पुर्याएपछि अवरुद्ध विद्युत् मर्मत भइनसक्दा अन्धकारमा बस्नु पर्ने बाध्यता आइपरेको हो ।
खोटाङ — साकेला गाउँपालिकामा ४ दिनदेखि विद्युत् अवरुद्ध भएको छ । गत चैत २ गतेको हावाहुरीले विद्युतको मेनलाइनमा क्षति पुर्याएपछि अवरुद्ध विद्युत् मर्मत भइनसक्दा अन्धकारमा बस्नु पर्ने बाध्यता आइपरेको हो ।
लिच्किराम्चेको बाघेढुंगा शव स्टेसनदेखि साकेला गाउँपालिकासम्मको मेनलाइन र शाखालाइनमा समेत हावाहुरीले क्षति पुर्याएपछि २ हजार ३ सय १८ घरपरिवार अन्धकारमा बस्न बाध्य हुनु परेको साकेला गाउँपालिकाका सूचना प्रविधि शाखाका प्रमुख डीएम चाम्लिङले बताएका छन् । उक्त पालिकामा विद्युत् मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख रामकुमार श्रेष्ठले बताएका छन् । ‘धमाधम काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘ठूलै क्षति भएकाले समय लागेको हो ।’
