बिहीबारदेखि सुरु भएको रथयात्रा चैत १९ गते धरान बजार परिक्रमा गर्दै विधिवत् समापन गरिने कार्यक्रम रहेको मूल पुजारी गोकुल पोखरेलले बताए ।
धरान — यहाँको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल पिण्डेश्वरको बाबाधाम मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव सुरु भएको छ । धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा बिहीबारदेखि सुरु भएको रथयात्रा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
पिण्डेश्वर बाबाधाम समिति र पिण्डेश्वर महादेव मन्दिरको संयुक्त आयोजना तथा बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षण परिषद्, दन्तकाली मन्दिर व्यवस्थापन समिति, पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको सहयोगमा रथयात्रा सुरु भएको पिण्डेश्वर बाबाधाम सेवा समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
उनका अनुसार पौराणिक, ऐतिहासिक एवं धार्मिक महात्म्यमा उल्लेख भएअनुरुप दोस्रो पिण्डेश्वर रथोत्सव गरिएको हो । यस रथोत्सवले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने लक्ष्य लिएको उनले बताए ।
चैत १३ गते बुढासुब्बा मन्दिरबाट सुरु हुने र चैत १९ गते धरान बजार परिक्रमा गर्दै रथोत्सवको विधिवत् समापन गरिने कार्यक्रम रहेको मूल पुजारी गोकुल पोखरेलले बताए । रथयात्रा अवधिभर दैनिक बिहान ९ बजेदेखि रुद्री पूजा तथा साँझ भव्य भजन–कीर्तन गरिने आयोजकले जनाएको छ । बिहीबार भएको रथयात्रा पिण्डेश्वर मन्दिरबाट सुरु गरी दन्तकाली, पञ्चकन्या र बुढासुब्बा मन्दिर हुँदै पुनः पिण्डेश्वर मन्दिरमा आएर समापन भएको थियो ।
रथयात्रामा मन्दिरका पुजारी पोख्रेल, कोशी प्रदेश सदस्य रमेशकुमार बस्नेत, कोशी प्रदेश पूर्वसभामुख प्रदीपकुमार भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, केन्द्री सदस्य मुरारी सुवेदी, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत स्कुलका विद्यार्थीसहित भक्तजनको ठूलो उपस्थिति थियो ।
