हुरीले क्षतिग्रस्त धनकुटा क्याम्पसको पुस्तकालय सञ्चालनमा दुई साता लाग्ने

हुरीले पुस्तकालयको छाना उडाउँदा पुस्तक र अन्य संरचनामा क्षति पुगेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताए ।

चैत्र ५, २०८२

रमेशचन्द्र अधिकारी

It will take two weeks for the library at Dhankuta Campus, which was damaged by the storm, to reopen.

धनकुटा — हावाहुरीका कारण धनकुटा बहुमुखी क्याम्पसको पुस्तकालय भवनमा क्षति पुगेको छ । पुस्तकालयमा रहेका २० हजार थान पुस्तक मध्ये पानीले आंशिक भिजेर क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । 

पुस्तकालयको छाना हुरीले उडाएपछि पुस्तक र अन्य संरचनामा क्षति पुगेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताए । उनका अनुसार बाँकी पुस्तकलाई नजिकै रहेको अर्को भवनमा सारिएको छ । ‘पुस्तकालय भवनको संरचना पूर्णरुपमा क्षति पुगेको छ’, उनले भने, ‘पुस्तक र भवनको क्षतिको विवरण संकलन हुन बाँकी छ ।’

पुस्तकालय सञ्चानल हुन कम्तीमा दुई साता लाग्ने जनाइएको छ । क्षतिग्रस्त पुस्तकालयबाट विद्यार्थीले अर्को भवनमा पुस्तक सारेका छन् । उक्त क्याम्पसमा हाल १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । जसमा विज्ञान तथा प्रविधि, मानविकी, शिक्षा र व्यवस्थाप संकायमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुने गरेको छ । हावाहुरीले  क्याम्पसको सीएमए भवनमा समेत आंशिक क्षति पुगेको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully