हलेसी तुवाचुङ नगरपालिकाका ६० घर परिवारलाई जस्ताका छाना उपलब्ध गराउने भएको हो ।
खोटाङ — हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेकाहरूलाई हलेसी तुवाचुङ नगरपालिकाले जस्ताको छाना दिने भएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका ६० घर परिवारलाई जस्ताका छाना उपलब्ध गराउने भएको हो ।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार चैत २ गते बेलुकी आएको हावाहुरीले नगरपालिकाका ६० घरको छाना उडाएको थियो ।
छाना उडाएकामध्ये उक्त नगरपालिका–१ बाहुनीडाँडाका १२, २ डिकुवाका ४, ३ च्यास्मिटारका २८, ८ धितुङका ३ र ११ राजापानीका ५ घर गरी ५२ घरको निवेदन आइसकेको र अन्य ८ घरमा पनि क्षति पुर्याएकाले उनीहरूको पनि निवेदन आउने चरणमा रहेको गिरीले सुनाएका छन् ।
छाना उडाएकाहरूलाई प्रविधिको मूल्यांकन र स्टिमेटको आधारमा घर अनुसारका जस्ता पाता वितरण गरिने गिरीले जनाएका छन् । यसका साथै हावाहुरीले बिचल्लीमा परेकाहरूलाई तत्कालका लागि २७ थान त्रिपाल वितरण गरिएको गिरीले बताएका छन् । उक्त सामग्री विपत् कोषबाट वितरण गर्ने तयारी गरिएको गिरीले जनाएका छन् । थप यसबारेमा नगरपालिकाको आगामी चैत ८ गतेको बैठकले अनुमोदन गर्ने गिरीले सुनाएका छन् ।
‘नगरपालिकाको विपत कोषबाट हावाहुरीले छाना उडाएर बिल्लीमा परेकाहरूलाई जस्ता पाता दिने तयारी गरिएको छ,’ गिरीले भने, ‘आगामी चैत ८ गतेको बैठकले यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ ।’
