खानीडाँडा–पञ्चमी बजार सडक कालोपत्रको शिलान्यास

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १७ करोड, ३७ लाख ८२ हजार ४९ लाख रूपैयाँ लागतमा ८.०२ किलोमिटर सडक कालोपत्र हुने भएको हो ।

चैत्र ५, २०८२

डम्बरसिं राई

Foundation stone laid for blacktop of Khanidanda-Panchami Bazaar road

What you should know

खोटाङ — खानीडाँडा–याम्खा रातमाटा–दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै पञ्चमी बजारसम्मको सडक कालोपत्रको शिलान्यास गरिएको छ । 

कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले बिहीबार उक्त सडक कालोपत्रको शिलान्यास गरेका हुन् । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १७ करोड, ३७ लाख ८२ हजार ४९ लाख रूपैयाँ लागतमा ८.०२ किलोमिटर सडक कालोपत्र हुने भएको हो । २०८४ माघ १७ भित्र सक्ने गरी यूएसजी–रत्तकन्या–हिमश्रृङ्खला जेभी काठमाडौंले २०८२ माघ १८ मा पूर्वाधार विकास कार्यालय खोटाङसँग सम्झौता गरेको थियो । 

उक्त योजनाको २४ करोड ९९ लाख ६६ हजार २ सय २० रूपैयाँको लागत अनुमान भए पनि त्यसभन्दा साढे ७ करोड कममा ठेक्का परेको हो । यसबाट सडक कटिङ, पक्की नाली निर्माण, रिनेनिङ पर्खाल र जाली, पाइप कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्र गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त योजनाका लागि प्रदेश सरकारले बहुवर्षीय रूपमा स्रोत सुनिश्चितता गरी ठेक्का आह्वान गर्ने अनुमति दिएकाले त्यही अनुसार बजेट व्यवस्थापन गरिने पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए । उनका अनुसार चालु आर्थिक वर्षका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । 

निर्माण सम्बद्ध साइड इन्चार्ज गोविन्द लामिछानेले बर्खाअघि सडक कटिङ र रिटेनिङ पर्खाल सक्ने र त्यसपछि नालीलगायतका काम सुरु गर्ने योजना बनाइएको बताए । ०८४ असार अगाडि नै कालोपत्र गर्ने लक्ष्य राखिएको लामिछानेको भनाइ छ ।  

उक्त योजनाका लागि बजेट, साइटको विवाद र प्राविधिक विषयमा कुनै समस्या नभएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख दाहालले बताए । जिल्लाको उत्तरीक्षेत्र र दक्षिणी क्षेत्र जोड्ने महत्वपूर्ण सडक भएकाले बेलैमा सक्नका लागि तीब्र गतिमा काम गर्नुपर्ने कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री समेत रहेका भूपेन्द्र राईले बताए ।  

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully