शिक्षासेवी ठाकुरको निधन

२००१ साल असोज १९ गते भारतमा जन्मेका ठाकुरले आफ्नो जीवन शिक्षाको उज्यालो फैलाउन खाँदबारीमा ४० बसेका थिए । विशेष गरी खाँदबारीको हिमालय माध्यमिक विद्यालयलाई उचाइमा पुर्‍याउन उनको योगदान अतुलनीय मानिन्छ।

चैत्र ५, २०८२

दीपेन्द्र शाक्य

Educationist Thakur passes away

संखुवासभा — संखुवासभाको खाँदबारीमा रहेको हिमालय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यपक जंगबहादुरप्रसाद ठाकुरको बिहीबार निधन भएको छ ।

भारतको बिहार राज्यअन्तर्गत बेगुसरायस्थित आफ्नै निजी निवासमा विहीबार उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

२००१ साल असोज १९ गते भारतमा जन्मेका ठाकुरले आफ्नो जीवन शिक्षाको उज्यालो फैलाउन खाँदबारीमा ४० बसेका थिए । विशेष गरी खाँदबारीको हिमालय माध्यमिक विद्यालयलाई उचाइमा पुर्‍याउन उनको योगदान अतुलनीय मानिन्छ।

२०२२ सालमा धरानबाट पैदल यात्रा गरी खाँदबारी आएर पढाउन थालेका उनले २०३६ सालदेखि २०६१ साल पुस १८ गतेसम्म हिमालय माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत रहेका थिए । लामो समयसम्म विद्यालयको नेतृत्व सम्हाल्दै उनले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका हिमाविका वर्तमान प्रअ ताराबहादुर बुढाथोकीले बताए । उनले शिक्षण गरेका विद्यार्थीहरू आज नेपाल सरकारका उच्च पदहरूमा पुगेका छन् ।  

ठाकुर सर स्वभावले साहसी र मिजासिला हुनुहुन्थ्यो, प्रअ बुढाथोकीले भने अनुशासनमा कडाइ उहाँको विशेषता थियो, बदमासी गर्ने विद्यार्थीहरूका लागि उहाँ कठोर हुनुहुन्थ्यो भने सोझासाधा र मेहनती विद्यार्थीहरूका लागि अत्यन्तै मायालु र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको यही सन्तुलित व्यवहारले विद्यार्थीहरूमा अनुशासन र आत्मविश्वास दुवै विकास गरायो उनले भने ।

२०६१ साल पौष १९ गते अनिवार्य अवकाश पाउँदै उनले औपचारिक रूपमा विद्यालयबाट विदाइ लिएका थिए । उनको योगदान र प्रभाव भने अझै पनि विद्यालयको प्रत्येक कक्षाकोठा र विद्यार्थीहरूको सफलतामा जीवित छ उनले भने ठाकुर सरको निधनले विद्यालय मात्र नभई समग्र संखुवासभा क्षेत्रकै शैक्षिक जगत् शोकमग्न बनेको छ। उनलाई शिक्षा क्षेत्रमा 'ज्ञानको दीप बाल्ने गुरू' का रूपमा स्मरण गरिनेछ।

जङ्गबहादुरप्रसाद ठाकुरको जीवन संघर्ष, समर्पण र शिक्षाप्रतिको अटल निष्ठा आजका र भोलिका पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने उनले बताए । 

दीपेन्द्र

Link copied successfully