ताप्लेजुङमा आधा सिलिन्डरको ग्यासको मूल्य १३ सय

नेपाल आयल निगमले भने आधा भरिएको सिलिन्डरको मूल्य ९ सय ५५ रुपैयाँ तोकेको छ ।

चैत्र ४, २०८२

आनन्द गौतम

The price of half a cylinder of gas in Taplejung is 1,300 rupees.

ताप्लेजुङ — जिल्लामा ७.१ किलोग्राम वजनको आधा भरिएको एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि सदरमुकाम फुङलिङमा १४.२ किलोग्राम पूर्ण भरिएको सिलिन्डरको मूल्य २२ सय रुपैयाँ रहेको थियो । यसका आधारमा आधा सिलिण्डरको मूल्य ११ सय हुनुपर्नेमा दुई सय रुपैयाँ बढी राखिएको हो । 

नेपाल आयल निगमले भने आधा भरिएको सिलिन्डरको मूल्य ९ सय ५५ रुपैयाँ तोकेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सिलिन्डरको वजन घटे पनि ढुवानी खर्चका कारण १३ सय रुपैयाँ राख्नु परेको उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष विकास गौतमको दाबी छ ।

बुधबार जिल्लाका ग्यास सिलिन्डर बिक्रेताहरूको भेला बसेको थियो । वजन कम भए पनि ढुवानीका क्रममा सिलिन्डरले ओगट्ने स्थानका कारण ढुवानी खर्च बढेको गौतम बताउँछन् । ‘कम वजन भए पनि सिलिन्डरको भाँडाले समान ठाउँ ओगट्ने भएकाले ढुवानी मूल्य बढी नै लाग्ने भयो, पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानी पनि बढ्यो । त्यसैले तुलनात्मक रुपमा बढी पर्ने भयो,’  गौतमले भने । 

यसबारे प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई पहिले नै जानकारी गराइएको पनि गौतमको दाबी छ । यस्तो परिस्थिति बुझेपछि प्रजिअ सेढाइँले जिल्लामा पूरै भरिएको सिलिन्डर ल्याउन पहल गरे पनि सम्भव नभएको वाणिज्य संघले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully