जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अवस्था अचानक गम्भीर बनेपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।
संखुवासभा — जिल्लाको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अवस्था अचानक गम्भीर बनेपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।
बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएपछि राईको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको अस्पतालले जनाएको छ। अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था झनै नाजुक बन्दै गएको थियो।
थप उपचारका लागि तत्काल विशेषज्ञ उपचार आवश्यक देखिएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ अनुसार उद्धार प्रक्रिया अघि बढाइएको थियो।
जिल्ला अस्पतालका डा. प्रदीप श्रीवालले समयमै उद्धारको व्यवस्था मिलेकै कारण बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पठाउन सफल भएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा यस्तो आकस्मिक अवस्थामा हवाई उद्धार जीवनरक्षक साबित भइरहेको छ।
