कम्पनीका प्रवक्ता बालकृष्ण पण्डितका अनुसार, पाइलट थापालाई कुनै घाउचोट नदेखिएपछि ह्याम्स अस्पतालका चिकित्सकले बुधबार साँझ नै घर पठाएका हुन् ।
काठमाडौँ — एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सविन थापा डिस्चार्ज भएका छन् । कम्पनीका प्रवक्ता बालकृष्ण पण्डितका अनुसार, पाइलट थापालाई कुनै घाउचोट नदेखिएपछि ह्याम्स अस्पतालका चिकित्सकले बुधबार साँझ नै घर पठाएका हुन् ।
दुर्घटनामा घाइते भएका ७४ वर्षीय काजीबहादुर राईको ह्याम्समा उपचार भइरहेको छ । प्रवक्ता पण्डितका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
बुधबार भएको उक्त चार्टर उडान एक महिनाअघि नै बुकिङ गरिएको थियो । बेलायतमा निधन भएकी ८० वर्षीया मनलक्ष्मी राईको शव (कफिन) नेपाल ल्याई खोटाङ लैजानका लागि हेलिकोप्टर चार्टर गरिएको थियो । तर 'एएस३५० एफएक्स-टू' हेलिकोप्टरमा कफिन लोड गर्न नसकिने भएपछि चार्टर गर्ने पक्षले शवलाई बुधबार सडकबाट पठाउने निर्णय गरेको थियो ।
हेलिकोप्टरमा भने मृतकका ८२ वर्षीय पति डाकमणि राई, ५३ वर्षीय छोरा बालकुमार राई, ४७ वर्षीया छोरी लक्ष्मी राई, ४० वर्षीया आफन्त समला राई र ललितपुरका काजीबहादुर राई सवार थिए ।
एयर डाइनेस्टीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण 'अवतरणपछि उत्पन्न असन्तुलन' हुन सक्ने अनुमान गरिएको छ । उक्त चार्टर उडान राई परिवारले एकतर्फी ३ लाख २० हजार रुपैयाँमा गरेका थिए । हेलिकोप्टरको तालिकाअनुसार खोटाङबाट सोही दिन रित्तै लुक्ला फर्किने योजना थियो । यस दुर्घटना एयर डाइनेस्टीको पाँचौं हेलिकोप्टर हो ।
एयर डाइनेस्टी हेलिकोप्टर प्रालि सन् १९९३ मा काठमाडौंमा आङ छिरिङ शेर्पाद्वारा स्थापना गरिएको निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी हो । उनले पछि यति एयरलायन्स पनि स्थापना गरेका थिए ।
काठमाडौं विमानस्थललाई आधार बनाएर सञ्चालन हुँदै आएको यस कम्पनीले देशभर चार्टर्ड हेलिकोप्टर सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख हबहरू काठमाडौं, पोखरा र लुक्ला रहेका छन् ।
नेपालको पुरानो मध्येको यो कम्पनीका विगतका प्रमुख दुर्घटनाहरूमा ४ जनवरी २००५ मा रामेछापको थोसेमा ३ जनाको मृत्यु भएको घटना, ३ सेप्टेम्बर २००६ मा धौलागिरि बेस क्याम्प नजिक भएको घटना (मानवीय क्षति नभएको), २७ फेब्रुअरी २०१९ मा ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयरलायन्सका संचालक आङ छिरिङ शेर्पालगायत ७ जनाको मृत्यु भएको दुर्घटना तथा ७ अगस्ट २०२४ मा नुवाकोटको सूर्यचौरमा ५ जनाको मृत्यु भएको दुर्घटना मुख्य हुन् ।
नेपालका दुर्गम क्षेत्रमा सेवा विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको एयर डाइनेस्टीसँग सम्बन्धित यस्ता घटनाहरूले हवाई सुरक्षाको विषयलाई अझ संवेदनशील बनाएको छ । हाल नेपालमा १२ वटा हेलिकोप्टर कम्पनी छन् ।
![Air Dynasty helicopter crash: Pilot discharged [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/khotang-accident-1832026080500-1000x0.png&w=1001&h=0)