पूर्वाधार विकास कार्यालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा–१५ बिजयखर्कको बीचमा पर्ने दिखुवा खोलाको पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको हो ।
What you should know
खोटाङ — दिखुवा खोलामा निर्माणाधीन पक्की पुल निर्माणमा ढिलासुस्ती भएपछि पूर्वाधार विकास कार्यालय खोटाङले ७ दिनभित्र काम नथाले सम्बन्धित निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत प्रक्रिया बढाउने चेतावनी दिएको छ ।
कार्यालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको बीचमा पर्ने दिखुवा खोलाको पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको हो ।
पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार उक्त पुल निर्माणको ठेक्का लिएको अन्शुवी/नेपाल फूलबारी/पिंगला जेभी सुनसरीलाई ७ दिनभित्र ‘बैंक ग्यारेन्टी जफत’ गर्नु नपर्ने कारण खुलाउन फागुन २८ मा पत्राचार गरेको हो । ७ दिनभित्र काम सुरु नभए बैंक ग्यारेन्टी जफतको प्रक्रिया बढ्ने दाहालले बताए ।
करिब ३ करोडको लागतमा सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीको तर्फबाट बसन्त बुढाथोकीले गत पुस २३ मा सम्झौता गरेको दाहालले बताए। पुलका लागि आवश्यक करिब दुई करोड बढीको स्टिलका सामग्री भने कोशी प्रदेश सडक पुल सहयोग इकाइले उपलब्ध गराएको हो । योसहित पुलको जम्मा लागत करिब साढे ५ करोडको हुने दाहालले सुनाए ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाईघाट र प्रदेश सडक पुल सहयोग इकाइ इटहरीको साझेदारीमा दिखुवा खोलामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको हो । अहिलेसम्म उक्त पुलको एकपट्टीको फाउण्डेसन खन्ने काम समेत नसकिएकाले सम्झौता बमोजिम कार्यसम्पादन हुने आधार नदेखिएकाले ताकेता गरिएको दाहालले बताए ।
अधिकांश निर्माण सामग्री निर्माणस्थलमा ल्याइसकिएको तर मेसिन बिग्रिनुका साथै निर्वाचनले समेत काममा ढिलाई भएको निर्माणमा संलग्न रोशन राईले बताएका छन् । मेसिन मर्मत भइरहेकाले चाँडै काम सुरु हुने राईले बताए ।
उक्त पुल दिक्तेल–खानीडाडाँ–रेग्मीटार सडक खण्डमा पर्छ । उक्त ठाउँमा पुल बनेपछि गाईघाट–दिक्तेल सडक अन्तरगत पर्ने राजापानी–विजयखर्क–बुइपा–महुरे हुँदै दिक्तेल पुग्न १७ किलोमिटर दूरी छोटिन्छ । उक्त पुलको कोशी प्रदेश भौतिक पूर्वाधार विकास पूर्वमन्त्री भूपेन्द्र राईले गत जेठ १७ गते शिलान्यास गरेका थिए ।
