गाउँपालिकालाई स्थानीयले दिएको विवरण अनुसार १४ घरमा पूर्ण र १३ वटामा आंशिक क्षति भएको छ ।
What you should know
ताप्लेजुङ — आइतबार र सोमबारको हावाहुरीले दर्जनौं घर र सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि सिदिङवा गाउँपालिकाले सङ्घीय र प्रदेश सरकार गुहार्ने भएको छ ।
गाउँपालिका अध्यक्ष मानबहादुर राईले मंगलबारसम्म पनि क्षतिको पूर्ण विवरण संकलन गर्न नसकिएको बताए । गाउँपालिकालाई स्थानीयले दिएको विवरण अनुसार १४ वटा घरमा पूर्ण र १३ वटामा आंशिक क्षति भएको छ ।
यसलाई यकिन गरी बुधबारसम्म सबै विवरण पालिकामा पेश गर्न वडाध्यक्षहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । प्रारम्भिक रुपमा आएको यो विवरण भन्दा बढी क्षति भएको बुझाई पालिका अध्यक्ष राईको छ ।
मंगलबार दिउँसो टेलिफोनमा भने, ‘म पनि अहिले जेसिबी लिएर ढलेका रूख पन्छाउन लिम्बूदिन आइपुगेको छु । यहाँ ठूल्ठूला सिमल र वरका रूख ढलेका रहेछन् । यसले बाटो छेकेको पनि छ र पन्साउन पनि निकै कठिन भएको छ । सिमलका रुखले घरमा हिर्काए पनि मानवीय क्षति जोगिएको छ ।’
समृद्ध सिदिङवा नागरिक एकता समाजले सार्वजनिक गरेको विवरण अनुसार हावाहुरीबाट वडा-७ सुरुमखिमका देउबहादुर खुदाङ, जीवन ईम्बुङ, रोमन ईम्बुङ, लिम्बुदिनका टीका राई, रामकुमार लिम्बूको घरमा पूर्ण क्षति भएको छ ।
यस्तै कालिखालाका योगेश बेघा, हरि बेघा, सुस्मिता राई बेघा, मेहेलेका चन्द्र विश्वकर्मा, मेहेलेकै मन कुमार सोताङ, केशरमान श्रेष्ठ, सन्जीप राई, याम लिङदेन, र साब्लाखुका जंगबहादुर पन्दाकको घर पूर्ण क्षति भएको छ । मेहेलेका मनकुमार तामाङ, युवराज तामाङ, राजकुमार लिङदेन, धनबहादुर बानियाँ, शेरबहादुर बानियाँ, खड्ग गौतम, कुमार गौतमको आंशिक क्षति भएको समाजले जनाएको छ । मेहेलेको मुकुभञ्ज्याङ धर्मशाला, सादेवाको पुरानो गाविस भवन र विद्यालय भवनमा क्षति पुगेको उल्लेख छ ।
‘घरको छाना त कति उडायो भनी हेरी साध्यै छैन,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकाले राहत दिने कार्यविधि पहिल्यै ल्याएका छौं तर त्यसले केही पनि नहुने भयो प्रदेश सरकार र सङ्घीय सरकारसँग गुहार माग्छौं।’ सयाैं वर्ष पुराना सिमल, वरका रूख लडेर ठूलो क्षति गरेको राई बताउँछन् ।
वडाबाट बुधबार सिफारिस आएपछि पालिकाले दिने राहत तत्काल दिने र जिल्ला विपद् व्यवस्थापन समितिमा क्षतिको विवरण लेखाई अन्य निकायमा अनुरोध गर्ने तयारी गाउँपालिकाले गरेको उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् ।
