जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
ताप्लेजुङ — जिल्लाका दलित अधिकारकर्मीले इनिसा विकको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । संयुक्त राजनीतिक दलित संर्घष समितिका संयोजक नेत्र नेपालीले विगतका घटनामा जस्तो दोषी उम्किनु नहुने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईलाई ज्ञापनपत्र बुझाए थिए । फुङ्लिङ बजारको वीरेन्द्रचोकबाट मौन र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका दलित अधिकारकर्मीले हत्यामा संलग्नलाई कुनै बहानाबाजी गरेर उन्मुक्ति दिने कार्य नगर्न सचेत गराएका छन् ।
दलित एकता समाजका अध्यक्ष एवं दलित अधिकारकर्मी गंगाराम शंकरले बलात्कार जस्तो जघन्य अपराधका घटनाले किशोरीहरुले दिनप्रतिदिन असुरक्षित महसुस गरेको बताए । उनले यस्ता घटना हुन नदिन सरकारले सुरक्षाको प्रत्याभूत गराउनुपर्ने माग पनि गरे । अनुसन्धानलाई कमजोर पार्ने प्रयास भए कडा प्रतिवादमा उत्रने उनको चेतावनी छ । ‘दलित समुदाय र दलित महिलामाथि श्रृंखलाबद्ध रुपमा छुवाछूत विभेद, अपमान, बलात्कार, हत्याजस्ता घटनाहरु भइरहेको अधिकारकर्मीको ठहर छ । अनुसन्धानलाई कमजोर पार्न राजनीतिक र प्रशासनिक दबाब आएको भन्ने विषयलाई गम्भीरतापूर्वक लिएका छौं,' ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र हस्तान्तरण गर्दै नेपालीले हत्यामा संलग्नलाई शीघ्र कारबाही गरी पीडित परिवारमा पर्न गएको भौतिक एवं मनोवैज्ञानिक क्षतिको मूल्यांकन गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग पनि गरे । बिकको न्यायका लागि सोमबार पाथीभरा क्याम्पसका विद्यार्थीहरुले पनि प्रदर्शन गरेका थिए ।
