ताप्लेजुङ घुम्न आएका बेला आँखा अस्पताल पुगेको र कोषको विषयमा जानकारी पाएपछि आत्मैदेखि केही गरौं भन्ने लागेर सहयोग गरेको खड्गबहादु गुरुङले बताए ।
ताप्लेजुङ — पोखरा घर भइ बेलायतमा बस्तै आएका गुरुङ दम्पतीले ताप्लेजुङको आँखा अस्पताललाई सहयोग गरेका छन् । विपन्न वर्गका मानिसको आँखा उपचारका लागि खड्कबहादुर गुरुङ र पूर्णकुमारी गुरुङले १ लाख ५ हजार रुपैयाँको कोष स्थापना गरी सहयोग गरेका हुन् ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले गत वर्षदेखि यस्तो कोष सञ्चालनमा ल्याएको छ । सभापति राजकुमार गुरुङका अनुसार कोषको व्याजबाट प्राप्त हुने रकमले विपन्न वर्गको आँखा परीक्षणदेखि शल्यक्रियासम्ममा खर्च गरिनेछ ।
ताप्लेजुङ घुम्न आएका बेला आँखा अस्पताल पुगेको र कोषको विषयमा जानकारी पाएपछि आत्मैदेखि केही गरौं भन्ने लागेर सहयोग गरेको खड्गबहादुले बताए । आफूले सहयोग गरेको रकम र त्यसबाट कसले कस्तो सेवा पायो भन्ने विषयमा चाहिँ खबरदारी गरिरहने उनले बताए ।
उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजको ८० प्रतिशत रकम विपन्न तथा असहाय आँखाका बिरामीको उपचारमा खर्च हुनेछ । बाँकी २० प्रतिशत रकमचाहिँ साँवामै जोडिने गरी कार्यविधि बनाइएको छ ।
