रेश्मिका हत्या घटनाका दोषी पहिचान गर्न माग

घटनाको सुक्ष्म अनुसन्धान नभएको भन्दै हिङमाङ एकता समाज र परियार पारिवारिक एकता समाजले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

चैत्र २, २०८२

डम्बरसिं राई

Demand to identify the culprits in the Reshmika murder case

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे दिनुवाकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या घटनाको सुक्ष्म अध्ययन गरी संलग्नलाई कारबाही गर्नुपर्ने दलित समुदाय सम्बद्ध संघसंस्थाले माग गरेका छन्।

घटनाको सुक्ष्म अनुसन्धान नभएको भन्दै हिङमाङ एकता समाज र परियार पारिवारिक एकता समाजले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

गत भदौ ३० मा पञ्चमी बजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनको हाकुले भन्ने स्थानमा रेश्मिकाको बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा १४ वर्षीय नाबालकलाई पक्राउ गरिएकाले एक्लैले त्यस्तो जघन्य अपराध गर्न सम्भव नहुने भन्दै घटनाको सुक्ष्म अनुसन्धान गरी संलग्नलाई पक्राउ गर्नुपर्ने माग गरिएको छ ।

परियार पारिवारिक एकता समाजका अध्यक्ष रमेश परियार, हिङमाङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ र सचिव कुलमान हिङमाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाइएको छ । 

रेश्मिकाको हत्यामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै उनका परिवार तथा आफन्तले माइतीघर मण्डलामा आइतबारदेखि धर्ना समेत बसिरहेको परिवार पारिवारिक समाजका रमेश परियारले बताए । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले रेश्मिका हत्या प्रकरणको अनुसन्धान भइरहेको बताएकी छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully