प्रक्रिया अघि नबढ्दै पाख्रीबास नगरपालिकाको १७ औं नगरसभा स्थगित गरिएको छ । सहभागी ५५ मध्ये ३१ जनाले बहिष्कार गरेपछि सभा स्थगित गरिएको हो ।
What you should know
धनकुटा — पाख्रीबास नगरपालिकाको १७ औं नगरसभा उपप्रमुखसहित ३१ जनप्रतिनिधिले बहिष्कार गरेका छन् । जसका कारण नगर सभाको प्रक्रिया नै अघि नबढ्दै स्थगित हुन पुगेको छ ।
नगर प्रमुख ज्ञानबहादुर गुरुङले विधि र प्रक्रिया मिचेर एकलौटी ढंगले नगरसभा सञ्चालन गरेको भन्दै उपप्रमुख नम्रता गौतम देउजासहित ३१ जनप्रतिनिधिले नगर सभा बहिष्कार गरेका हुन् । नगर प्रमुख गुरुङले नगर सभासद्लाई उपेक्षा गरेर एकलौटी ढंगले प्रक्रिया अघि बढाउन खोजेपछि विवाद उत्पन्न भएको उपप्रमुख देउजाको भनाइ छ ।
‘नगर प्रमुखले एकलौटी ढंगले नगरसभाका सदस्यलाई पत्राचार गरेको र बहुमत सदस्यको उपस्थितिलाई उपेक्षा गरिएको छ,’ उनले भनिन्, ‘नीति तथा कार्यक्रमका सवालमा छलफलको समय नै नदिइ उपेक्षा गरिएकाले हामी ३१ जनाले नगर सभा बहिष्कार गरेका हौं ।’ जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले विधि र कानुनसम्मत ढंगले कार्यक्रम अघि बढाउनु पर्ने माग राखिँदा उपेक्षा गरिएकाले यो कदम लिनु परेको उनको भनाइ छ । नगरसभाबारे आइतबार अबेर मात्र खबर गरिएको उनले बताइन् ।
यसैबीच, उपप्रमुख देउजाले विज्ञप्ति जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत हुने गरी नगर प्रमुखले नगर सभाको प्रक्रिया अघि बढाएको जनाएकी छिन् । आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजनाको संशोधन र बजेटको शीर्षक परिवर्तन गरेर नगरका सबै १० वटै वडा समिति र विषयगत शाखाको बैठक बसेर कार्यपालिकाबाट अनुमोदन हुनुपर्नेमा त्यसो नभएको उनको भनाइ छ । कानुनी व्यवस्थालाई उपेक्षा गरिएकाले नगर सभा बहिष्कार गर्नुपरेको उनको भनाइ छ ।
नगर प्रमुख गुरुङले नगरसभा बहिष्कार गरेको स्वीकार गरेका छन् । उनले १२ जना करार शिक्षक हटाएकाले उपप्रमुखसहितले असन्तुष्टि स्वरूप सभा बहिष्कार गरेको प्रतिक्रिया दिए । ‘प्रतिनिधिसभा निर्वाचन पहिले तीनपटक कार्यकालिका बैठक राख्दा सबै ठीक थियो,’ उनले भने, ‘अहिले बहिष्कार गरिए पनि छलफलमा बस्न आग्रह गरेका छौं । नगर सभामा सहभागी ५५ मध्ये ३१ जनाले बहिष्कार गरेका हुन् ।’
