पार्टीलाई बढी मत दिलाउने कमिटीलाई एमालेको सम्मान

भूगोलमा एमालेको पक्षमा बढी प्रतिशत मत ल्याउने चौबिसे–७, सहिदभूमि–६ र पाख्रीबास–७ कमिटीलाई सम्मान गरिएको हो ।

चैत्र १, २०८२

रमेशचन्द्र अधिकारी

UML honors committee that garnered the most votes for the party

धनकुटा — नेकपा एमाले धनकुटाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी मत ल्याउने पालिका र वडा कमिटीलाई सम्मान गरेको छ । जिल्लाका एक पालिका कमिटी र तीनवटा वडा कमिटीलाई एमाले जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेर आइतबार सम्मान गरेको हो ।

जिल्लाका सात पालिकामध्ये तुलनात्मक रूपमा सबैभन्दा बढी प्रतिशत मत ल्याउने चौबीसे गाउँ कमिटीलाई सम्मान गरिएको जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए । उनका अनुसार भूगोलमा एमालेको पक्षमा बढी प्रतिशत मत ल्याउने चौबिसे गाउँपालिका–७ वडा कमिटी, दोस्रो हुने सहिदभूमि–६ वडा कमिटी र तेस्रो हुने पाख्रीबास–७ वडा कमिटीलाई सम्मान गरिएको हो । 

एमालेका चारवटा कमिटीका अध्यक्षसहित पदाधिकारीलाई पार्टीका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, केन्द्रीय सदस्य तारा तितुङ, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरेका थिए । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार राजेन्द्रकुमार राई धनकुटाबाट १८ हजार १ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully