संखुवासभाको खाँदबारी नगरपालिका ८ पिप्ले निवासी पवन बजगाईँले भानुजन माध्यमिक विद्यालय अम्बिटारमा ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष स्थापना गरिदिएका हुन् ।
What you should know
ताप्लेजुङ — नेपाली सेनाको दुर्गादल गुल्म ताप्लेजुङमा कार्यरत एक सैनिक कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिका ८ पिप्ले निवासी पवन बजगाईँले भानुजन माध्यमिक विद्यालय अम्बिटारमा ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष स्थापना गरिदिएका हुन् । पेन्सन हुने अवधिसम्ममा यो रकमलाई बृद्धि गरेर १ लाख ७ हजार ७ सय ७७ रुपैयाँ बनाउने बजगाईँले बताए।
विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेल र अक्षयकोषदाता बजगाईँ भएको सम्झौता अनुसार यसको व्याजबाट हरेक वर्ष एक जना विद्यार्थीलाई कम्तीमा ५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वा नगदै रकम प्रदान गरिने छ ।
ब्याज रकम ५ हजार नपुगे बजगाईँले थप गरिदिने प्रतिबद्धता जनाएको प्याकुरेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष युगराज गुरुङले बजगाईँलाई धन्यवाद ज्ञापन गरे । हरेक वर्ष वसन्त पञ्चमीका दिन छात्रबृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।
सङ्खुवासभा घरभएका बजगाईँले कर्मथलो ताप्लेजुङमा सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय रोजेर अक्षयकोष स्थापना गरेको बताएका छन् । ‘मेरो उद्देश्य पाथीभरामा केही गरौं भन्ने थियो, तर पाथीभरामा प्रसस्त भेटी रकमलगायतको सुविधा देखेपछि विद्यालयमा सहयोग गरेको हुँ,’ बजगाईँले भने ।
उनले यसअघि आफ्नो विवाहको खर्च कटाएर बुवाआमा रोहित र पद्माकुमारी बजगाईँको नाममा सङखुवासभाकै बरुण बहुमुखी क्याम्पसमा १ लाख २५ हजार ५ सय २५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका थिए ।
सङ्खुवासभाको माट्स नेपालद्वारा सञ्चालित अनाथालय र महेन्द्र मावि मानेभन्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बहिरा विद्यार्थीलाई लुगाकपडा र स्टेसनरी सामग्री प्रदान गर्नुका साथै मनकामना मन्दिरमा रहेका बृद्धबृद्धालाई भोजन गराउने जस्ता सामाजिक काममा सहयोग पुर्याउँदै आएका थिए ।
सङ्खुवासभामा ब्लड बैंको लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार १ सय ११ रुपैयाँ समेत सहयोग गरेका बजगाईँले हरेक चार महिनामा रक्तदानमा सहभागी हुँदै आएका छन् ।
