पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङले जनक शिक्षा तथा सामग्री केन्द्रमा तत्काल पैसा जम्मा गर्ने र १५ चैतभित्र पाठ्यपुस्तक ल्याइ पुर्याउने तयारी गरेको महासंघका जिल्ला अध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए ।
ताप्लेजुङ — जिल्लाका सामुदायिक विद्यालयको पाठ्यपुस्तक १५ चैतसम्म सदरमुकाम फुङलिङ आइपुग्ने भएको छ । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङले जनक शिक्षा तथा सामग्री केन्द्रमा तत्काल पैसा जम्मा गर्ने र १५ चैतभित्र पाठ्यपुस्तक ल्याइ पुर्याउने तयारी गरेको महासंघका जिल्ला अध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार ताप्लेजुङमा पुस्तक ल्याउन ७० देखि ८० लाख रुपैयाँसम्म अग्रिम जम्मा गर्नुपर्छ । ‘हामीले रकम संकलन गरेर जनक शिक्षामा जम्मा गर्ने र बिक्री गरेर उठाउने गरेका छौं,’ भट्टराईले भने, ‘हामीले पनि जनक शिक्षाबाट बाँकी पाउँदैनौं र विद्यालयलाई बाँकी दिदैनौं ।’
ताप्लेजुङमा सबै स्टेसनरी व्यवसायीले संयुक्त रुपमा बिक्री गर्ने गरेका छन् । स्टेसनरी व्यवसायीले एक्लाएक्लै बिक्री गर्दा बाँकीमा जाने र पैसा उठाउन समस्या भएपछि एक दशकयता संयुक्त रुपमा बिक्री गर्न थालेको उनले बताए ।
सामुदायिक विद्यालयको ३, ५ र ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक जनक शिक्षाले दिन्छ । बाँकी कक्षाको निजीसँग किन्नुपर्छ । स्थानीय तहले हरेक विद्यालयलाई विद्यार्थी संख्याका आधारमा रकम दिने गरेका छन् ।
विद्यालयले त्यही रकमले खरिद गरेर लैजाने गर्छ । सदरमुकाम फुङलिङबाट ३ दिनसम्मको दुरीमा विद्यालय भएकाले अग्रिम तयारी गर्नुपर्छ । कतिपय विद्यालयले पाँचथर, तेह्थुमबाट पनि पुस्तक ल्याउने गरेका छन् ।
