ग्यारेजमा पार्किङ गरिएका बसमा आगलागी, ३ बस पूर्ण रुपमा जले

इलाका प्रहरी कार्यालय धरानका अनुसार मंगलबार राति करिब १० बजे आगलागी भएको सूचना पाएपछि प्रहरी निरीक्षक जीवन कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

फाल्गुन २७, २०८२

एलिना राई

Fire breaks out in buses parked in garage, 3 buses completely burnt down

धरान — धरान उपमहानगरपालिका-८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका बसहरूमा मंगलबार राति आगलागी हुँदा ३ वटा बस पूर्ण रूपमा जलेका छन् भने ३ बसमा आंशिक क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मंगलबार राति करिब १० बजे आगलागी भएको सूचना पाएपछि प्रहरी निरीक्षक जीवन कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब १०:४० बजे आगो पूर्णरूपमा नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा को१ख ६२७४, प्र१–०१–००१ख ४०३७ र बा४ख ५७५९ नम्बरका बस पूर्णरूपमा जलेका छन् । त्यस्तै, को१ख ३८४७, बा५ख ५८१४ र बा५ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्यारेजमा पार्किङ गरेर राखिएका बसहरूमा अचानक आगलागी भएको जानकारी प्राप्त भएपछि तत्काल सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो । आगलागीबाट बसहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully