धनकुटामा १२ वर्षयताकै बढी मत बदर

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटाका ७ वटै पालिकामा मतदाता शिक्षा प्रभावकारी बनाइएको दाबी गरिए अनुसार नतिजा फरक रहेको छ ।

फाल्गुन २३, २०८२

रमेशचन्द्र अधिकारी

Highest number of invalid votes in Dhankuta in 12 years

धनकुटा — धनकुटामा विगत १२ वर्ष यता भएका निर्वाचन मध्ये यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी प्रतिशत मत बदर भएको छ । गत बिहीबार सम्पन्न निर्वाचनमा खसेको कुल मत मध्ये ७ दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यो २०७० साल यता सम्पन्न निर्वाचनहरुमध्ये कै सबैभन्दा बढी बदर मत प्रतिशत हो । 

फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल ३१ हजार १ सय ८२ मत खसेकोमा २८ हजार ८ सय ६६ मात्र सदर भएको छ । जहा“ २ हजार ३ सय १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कुल मतदाता भने १ लाख १८ हजार ४ सय २५ रहेका थिए । 

सम्पन्न निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका सात वटा पालिकाका ६० वडाका मतदाता शिक्षा सञ्चालन गरेको थियो । हरेक घरमा मतदाता शिक्षाका लागि खटिएका जनशक्ति पुगेर मतदाता शिक्षा दिइएको दाबी गरिएको बेला बदर मतको संख्या अत्यधिक वृद्धि हुने पुगेको छ । मतदाता शिक्षाका लागि स्वयंसेवकहरुमा बालविकास सजहकर्ता, स्वास्थ्य स्यवंसेविका तथा सामाजिक परिचालकलाई परिचालन गरिएको थियो ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा २ हजार ७ सय १७ अर्थात् कुल मतको ३ दशमलव ९१ प्रतिशत मत बदर भएको थियो । तर, त्यो बेला प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदाता १ लाख १६ हजार ९ सय ९१ मतदाता थिए । जसमा प्रत्यक्षतर्फ ६९ हजार ४ सय १४ मत अर्थात ५९ दशमलब ३६ प्रतिशत मत खसेको थियो । त्यसमध्ये ६६ हजार ७ सय २७ सदर मत थियो । 

यस्तै समानुपातिक तर्फ ७० हजार २ सय १९ मत अर्थात ५९ दशमलब ५१ प्रतिशत मत खसेको थियो । जसमा ६६ हजार ३ सय २० मत सदर थियो । ३ हजार ८ सय ९९ मत अर्थात ५ दशमलब ५५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा ५ दशमलव ४८ प्रतिशत मत बदर भएको थियो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ दशमलव ६९ र समानुपातिक तर्फ ५ दशमलव ६५ प्रतिशत मत बदर भएको थियो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटाका ७ वटै पालिकामा मतदाता शिक्षा प्रभावकारी बनाइएको दाबी गरिए अनुसार नतिजा फरक रहेको छ । यसरी उल्लेख्य संख्यामा मत बदर हुनुमा मतदाता शिक्षाको समय सीमित हुनु मुख्य कारण रहेको जिल्ला निर्वाचन अधिकारी माधव अधिकारीको भनाइ छ । निर्वाचन सामग्री र स्रोत साधन कमी भएकोले पनि यो अवस्थामा आएको उनको भनाइ छ ।

मत बदर हुने कारण मध्ये मतदान अधिकृतको लापरबाही समेत कारण रहेको छ । साँगुरीगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षर बिनाको २० भन्दा बढी मतपत्र फेला परेको छ । यस्तै बदर हुने मुख्य मतपत्रको चिन्हमा स्वस्तीक छाप नलगाइ औंठा छाप लगाइएको पाइएको छ । यसैगरी, एउटै मतपत्रमा दुई वा सो भन्दा बढि चिन्हमा छाप लगाइएको मतगणनाको क्रममा फेला परेको छ । 

यस्तै कुनै पनि मतपत्रमा छाप नलगाइ खाली छोडेर मतदान गर्ने पनि पाइएको निर्वाचन अधिकारी माधव अधिकारीले बताए । ‘मत नै नहालेका हरेक पटकको गणना क्रममा फेला परिरहेको छ’, उनले भने, ‘मतदाता शिक्षा प्रभावकारी बनाए पनि बदर मत बढ्नु चिन्ताको विषय रहेको छ ।’

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully