पाँचथरमा मतान्तर बढाउँदै कांग्रेसका केरुङ,पछ्याउँदै श्रम संस्कृतिका शेर्मा 

सुरुवाती चरणदेखि अग्रता लिएका शेर्मा याङवरक गाउँपालिकाको गणना सुरु भएसँगै पछाडि पर्न थालेका हुन् ।

फाल्गुन २३, २०८२

लक्ष्मी गौतम

Congress' Kerung widens vote gap in Panchthar, followed by Labor Culture's Sherma

पाँचथर — पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले अग्रता बढाउँदै लगेका छन् । उनलाई श्रम संस्कृति पार्टीका हस्ताराज शेर्मा (ब्रबिम) ले पछ्याइरहेका हुन् ।

सुरुवाती चरणदेखिनै अग्रता लिएका शेर्मा याङवरक गाउँपालिकाको गणना सुरु भएसँगै पछाडि पर्न थालेका हुन् । जिल्लाका मिक्लाजुङ,तुम्वेवा,फालेलुङ र याङवरक गरी ४ वटा गाउँपालिकासँगै फाल्गुन्द गाउँपालिकाका १ र २ नम्बर वडाको मत गनिसक्दा केरुङले ८ हजार ३ सय ८० मत पाएका छन् । यस्तै शेर्माले ६ हजार ७ सय ७६ मत सहित केरुङलाई पछ्याइरहेका छन् ।

नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङ ६ हजार ३ सय ६७ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङ मिक्सो ५ हजार ३ सय ८१ मत सहित चौथो स्थानमा छन् । राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर लिम्बूलाई १ हजार ५ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र विक्रम थाम्सुहाङलाई १ हजार १ सय ६३ मत प्राप्त भएको छ ।

आठवटा स्थानीय तह र ६० वडा रहेको पाँचथरमा हालसम्म पाँच वटा स्थानीय तहका २९ वडाको गणना सकिएको छ । अब फिदिम नगरपालिकाका १४, फाल्गुनन्द गाउँपालिकाका ५, कुम्मायकका ५ र हिलिहाङका ७ गरी ३१ वटाको बाँकी छ ।

जिल्लामा ७१ हजार १ सय ७० मत खसेको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully