साहित्यकार झमकले मतदान गर्न पाइनन्

आमाको साथमा मतदान गर्न जाने तयारी गरिए पनि सम्भव नभएको बहिनी मौसमीले बताइन् ।

फाल्गुन २१, २०८२

रमेशचन्द्र अधिकारी

Literary writer Jhamak was not allowed to vote

धनकुटा — साहित्यकार झमक घिमिरेले यस पटक मतदान गर्न पाइनन् ।केही वर्षदेखि स्वास्थ्य समस्या जटिल बन्दै गएकाले ४५ वर्षीया उनी चिकित्सकको निगरानीमा धनकुटा-६ कचिंडेस्थित निवासमा आराम गरिरहेकी छन् । 

घरबाट सवारीसाधनमा १० मिनेटको दुरीमा रहेको रामप्रसाद पोखरेल आँखा अस्पतालस्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रमा समेत उनी पुग्न सकिनन् । 

हिँडडुल गर्न नसक्ने हुनाले विगतमा पनि सवारीसाधन र आफन्तको भरमा बोकिएर उनले मतदान गर्दै आएकी थिइन् । उनले लिखित प्रतिक्रिया दिइन्, 'यस पटक भोट हाल्न सकिनँ ।'

हात-खुट्टासमेत चल्न नसक्ने भए पनि झमकले देब्रे खुटाको औंलाले मतपत्रमा आफै स्वस्तिक छाप लगाउने गर्थिन् । घिमिरेकी आमाको खुट्टामा समस्या छ भने बाबु कृष्णबहादुर ह्वील चियरको सहारामा छन् । यसपटकको निर्वाचनमा आमा आशाले मात्र अटोबाट मतदान केन्द्रसम्म पुगेर अपराह्न ३ बजे मतदान गरिन् । उनको साथमा झमकले मतदान गर्न जाने तयारीका साथ सवारीसाधन मगाए पनि सम्भव नभएको बहिनी मौसमीले बताइन् ।

मदन पुरस्कारप्राप्त पुस्तक 'जीवन काँडा कि फुल' की लेखक झमकका डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully