सुनसरी १ मा ५८ प्रतिशत मत खस्यो, शुक्रबारदेखि मतगणना हुने

निर्वाचनको दिन प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले पनि आ–आफनो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरे ।

फाल्गुन २१, २०८२

एलिना राई

58 percent of votes cast in Sunsari 1, counting to begin Friday

धरान — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत सुनसरी–१ मा ५८ प्रतिशत मत खसेको छ । बिहीबार  बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए। उनका अनुसार सबै मतदान केन्द्रमा उत्साहजनक र व्यवस्थित रूपमा मतदान सम्पन्न भएको छ।

अधिकृत घिमिरेका अनुसार मतदानका क्रममा कुनै ठूलो अवरोध वा अप्रिय घटना भएन। समग्र मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको उनले बताए।

सुनसरी–१ निर्वाचन क्षेत्रअन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका १ देखि ५ वडा र रामधुनी नगरपालिकाका ६ र ७ वडा समावेश गरिएको छ । क्षेत्र नं १ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन् । तीमध्ये ८७ हजार ८ सय ६५ जनाले मतदान गरेका हुन् । जसमा ४७ हजार ७ सय १८ महिला र ४० हजार १ सय ४७ पुरुषले मतदान गरे।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यस क्षेत्रमा ४१ वटा मतदान स्थल र १ सय ६१ वटा मतदान केन्द्र तोकिएको थियो। विभिन्न विद्यालय, सामुदायिक भवन तथा सार्वजनिक स्थललाई मतदान केन्द्रका रूपमा प्रयोग गरिएको थियो।

यस निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि कुल २६ जनाले उम्मेदवारी दिएका छन्। जसमा विभिन्न राजनीतिक दलका तर्फबाट १९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्रतर्फबाट ७ जना चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचनको दिन प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले पनि आ–आफनो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका छन्। बिहीबार बिहान श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्कराज राई (साम्पाङ) ले धरान–१८ स्थित कार्मेल हाई स्कूल मतदान केन्द्रबाट मतदान गरेका थिए। मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सहभागिता महत्वपूर्ण हुने बताए। मतदाताहरूले विकास र परिवर्तनका पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरेका थिए।

त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार जेन्टल लावतीले पनि मतदान गरेका छन्। उनले पहिलो पटक आफूले आफौलाई मतदान गरेको भन्दै यसलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण क्षणका रूपमा लिएको प्रतिक्रिया दिएका थिए।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार टिकाराम माङलेनले धरान–१० स्थित पञ्चायत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गरेका थिए। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले तामाङ तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार महेश श्रेष्ठले मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका छन्।

निर्वाचन आयोगका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो। मतदानलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको थियो। सुरक्षा निकायको समन्वयमा मतदान प्रक्रिया सहज रूपमा सम्पन्न भएको जनाइएको छ।

सुनसरीका प्रमुख जिल्लाका अधिकारी वासुदेव घिमिरेका अनुसार  शुक्रबारदेखि मतगणना हुनेछ ।  

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सुरक्षित साथ राखिएको सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार बराहक्षेत्र, रामधुनी नगरपालिका र धरानका सबै मतदानस्थलबाट मतपेटिका आइसकेको छ। मतगणना धरान–८ स्थित सभागृहमा हुनेछ । 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully