धनकुटामा मतगणना स्थलको तयारी

मतगणना स्थलमा सीसी क्यामेरा जडान, जेनेरेटर तथा इन्भर्टरमार्फत वैकल्पिक विद्युत् व्यवस्था र बैकल्पिक बत्ती जडान गरिएको छ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Preparations for vote counting site in Dhankuta

धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणनाका लागि धनकुटा नगरपालिकाको वडा नं. ५ स्थित सामुदायिक भवनमा आवश्यक तयारी गरिएको छ। भुइँमा बसेर मतगणना गरिने छ । 

मतगणना स्थलमा सीसी क्यामेरा जडान, जेनेरेटर तथा इन्भर्टरमार्फत वैकल्पिक विद्युत् व्यवस्था र बैकल्पिक बत्ती जडान गरिएको छ। विद्युत् आपूर्तिमा कुनै अवरोध आए पनि गणना कार्य निरन्तर सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार बताए । 

मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन भवनको भीत्री भागमा वरिपरि तारजालीको घेरा हालिएको छ। प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरी अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिने जनाइएको छ। मतगणना कक्षमा उम्मेदवारका प्रतिनिधि, पर्यवेक्षक र सञ्चारकर्मीका लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिने इङनामले बताए।

मतपेटिका राख्ने सुरक्षित कोठा, प्रकाशको पर्याप्त प्रबन्ध, खानेपानी तथा शौचालय सुविधा लगायतका व्यवस्थापन कार्यसमेत पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गणनास्थल वरपर भीड नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरी सशस्त्र, नेपाल र निर्वाचन सुरक्षा प्रहरीको सुरक्षा घेरा रहने उनको भनाइ छ। 

निर्वाचन आयोगको निर्देशिका अनुसार मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बस्ने र गणनाको कार्यविधि स्पष्ट पारिने जनाइएको छ। मत परिणाम सार्वजनिक गर्दा आधिकारिक सूचना बोर्ड र सञ्चारमाध्यममार्फत नियमित अद्यावधिक गरिने इङ्नामको भनाइ छ।

कान्तिपुर

Link copied successfully