बाल अधिकार उल्लंघनका घटनामा बाल सञ्जाल र निर्वाचन कार्यालयबीच पाँचबुँदे सहमति

मंगलबार बाल सञ्जालका प्रतिनिधि र सुनसरी–१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेबीच भएको वार्तापछि सञ्जालले उठाएका माग सम्बन्धित निकायमा लेखी पठाउने सहमति भएको सञ्जालका संयोजक रोजन शंकरले जानकारी दिए।

फाल्गुन १९, २०८२

एलिना राई

Five-point agreement between Children's Network and Election Office on child rights violations

What you should know

धरान — बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएको आरोपपछि आमरण अनशनमा उत्रिएको धरान बाल सञ्जाल र सुनसरी–१ को निर्वाचन अधिकृत कार्यालयबीच श्रम संस्कृति पार्टीकी समानुपातिक उम्मेदवार मीना सिंघकको उम्मेदवारी खारेजीको सिफारिस सम्बन्धित निकायमा पठाउनेसहित पाँचबुँदे लिखित सहमति भएको छ।

मंगलबार बाल सञ्जालका प्रतिनिधि र सुनसरी–१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेबीच भएको वार्तापछि सञ्जालले उठाएका माग सम्बन्धित निकायमा लेखी पठाउने सहमति भएको सञ्जालका संयोजक रोजन शंकरले जानकारी दिए। सहमतिपत्रमा रोहबरका रूपमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख फणिन्द्र दाहाल रहेका थिए।

निर्वाचन अधिकृत घिमिरेका अनुसार बाल सञ्जालका मागहरू सम्बन्धित निकायमा पठाउने सहमति भएपछि अनशन तोडिएको हो। अनशनका कारण कार्यालयको नियमित काम-कारबाही प्रभावित हुने अवस्था बनेपछि दुवै पक्षबीच वार्ता गरिएको उनले बताए।

बाल सञ्जालले मंगलबार बिहान १२ बजेदेखि धरान उपमहानगरपालिका–८ स्थित सुनसरी–१ को निर्वाचन कार्यालयअगाडि आमरण अनशन सुरु गरेको थियो। आचारसंहिता उल्लंघन तथा बाल अधिकार हननबारे दिएको उजुरीमा कारबाही नभएको भन्दै तत्काल कदम चाल्न माग गरिएको थियो।

सञ्जालले श्रम संस्कृति पार्टीकी समानुपातिक उम्मेदवार मीना सिंघकले बालबालिकालाई हर्क साम्पाङको टिसर्ट लगाएर प्रचारात्मक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको विषयलाई आचारसंहिता उल्लंघनको रूपमा उठाएको छ। पाँच बुँदे मागपत्रमा श्रम संस्कृति पार्टीकी उम्मेदवार सिंह र तत्कालीन धरान उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईलाई कारबाही गर्नुपर्ने उल्लेख छ।

त्यस्तै आचारसंहिताविपरीत कार्यमा संलग्नमाथि कानुनी कारबाही, बाल सञ्जालका सदस्यहरूको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने तथा सामाजिक सञ्जालमा चरित्रहत्या, गालीगलौज र नकारात्मक सामग्री पोस्ट गर्नेहरूमाथि कारबाही गर्नुपर्ने माग पनि समावेश छन्।

सञ्जालले चुनावी प्रचारका क्रममा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ र उद्धव श्रेष्ठले बालबालिकालाई नाराबाजी, जुलुस तथा प्रचार अभियानमा सहभागी गराएको आरोप लगाएको छ।

यसअघि फागुन १३ र १७ गते विभिन्न राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारमा बालबालिकालाई प्रयोग गरेको भन्दै सञ्जालले प्रमाणसहित निवेदन दिएको थियो। तर सुनसरी–१ को निर्वाचन कार्यालयले निवेदन जिल्ला तहमा फरवार्ड नगरेको आरोप लगाउँदै सञ्जाल धर्नामा बसेको थियो।

माघ ११ गते सञ्जालका प्रतिनिधि रोजन शंकर र अध्यक्ष मानव विश्वकर्माले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully