साप्ताहिक हाट लाग्ने दिनमै प्रतनिधिसभा सदस्य निर्वाचन परेका कारण बन्द गरिएको धनकुटा नगरपालिकाले सूचनामार्फत जनाएको छ ।
धनकुटा — राणाकालीन समयदेखि धनकुटा बजारमा लाग्दै आएको साप्ताहिक बिहीबारे हाट आगामी बिहीबार भने बन्द हुने भएको छ ।
साप्ताहिक हाट लाग्ने दिनमै प्रतनिधिसभा सदस्य निर्वाचन परेका कारण बन्द गरिएको धनकुटा नगरपालिकाले सूचनामार्फत जनाएको छ । धनकुटा नगरपालिका–५ कोप्चेस्थित ऐतिहासिक साप्ताहिक बिहीबारे हाट सय वर्षभन्दा पनि अघि सुरु भएको मानिन्छ ।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार हाट लाग्ने स्थानमा मतदान केन्द्र राखिने भएकोले बन्द गरिएको हो । स्थानीयबासी राम श्रेष्ठका अनुसार २८ चैत २०६४ संविधानसभाको निर्वाचनका दिन पनि यसैगरी हाट बन्द गरिएको थियो ।
यस्तै, कोरोना भाइरसको कारण लकडाउन भएको अवस्थामा पनि हाट लागेको थिएन । अन्य, जस्तोसुकै अवस्थामा पनि उक्त साप्ताहिक हाट नियमित रुपमा लाग्दै आएको श्रेष्ठले बताए । जिल्लाका कृषकले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्ने मुख्य थलोको रुपमा बिहीबारे हाट रहेको छ ।
