धरानलाई पुनर्जीवन चाहिएको छ : खतिवडा

नेकपाका सचिवालय सदस्य जगन्नाथ खतिवडाले धरान सहरले योजनाविहीन विकास, अव्यवस्थित विस्तार र कमजोर व्यवस्थापनका कारण आफ्नो पुरानो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन्।

फाल्गुन १७, २०८२

एलिना राई

Dharan needs revival: Khatiwada

धरान — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य जगन्नाथ खतिवडाले धरानको वर्तमान अवस्था सतही रूपमा देखिने विकासभन्दा नागरिकले दैनिक जीवनमा भोगिरहेको यथार्थसँग मेल नखाने बताएका छन्।

आइतबार धरानमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले धरान सहर योजनाविहीन विकास, अव्यवस्थित विस्तार र कमजोर व्यवस्थापनका कारण आफ्नो पुरानो पहिचान गुमाउँदै गएको टिप्पणी गरे। ‘धरानलाई पुनर्जीवन चाहिएको छ, बाहिरबाट देखिने धरान र भित्र भोगिने धरान फरक छ,’ उनले भने ।

उनका अनुसार विकासलाई केवल सडक, भवन र संरचनामा सीमित राख्दा सहरको दिगो रूपान्तरण सम्भव हुँदैन। शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, रोजगारी, संस्कृति र आर्थिक आत्मनिर्भरतासँग जोडिएको विकास मोडल आवश्यक रहेको उनले बताए।

खतिवडाले विगतमा पूर्वी नेपालको शिक्षा, खेलकुद र व्यापारिक केन्द्रका रूपमा स्थापित धरान अहिले ट्राफिक अस्तव्यस्तता, साँघुरा सडक, खानेपानी समस्या तथा सहरी व्यवस्थापन चुनौतीसँग जुधिरहेको उल्लेख गरे। पिण्डेश्वर मन्दिर, बुढासुब्बा मन्दिर र भेडेटारजस्ता धार्मिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सके धरान पुनः आर्थिक केन्द्र बन्न सक्ने उनले बताए।

राजनीतिक सन्दर्भमा उनले देश निर्माण भीड र लोकप्रिय नाराभन्दा विचार र नीतिमा आधारित राजनीतिबाट मात्र सम्भव हुने बताए। देशलाई आर्थिक निर्भरता, भ्रष्टाचार र बाहृय प्रभावबाट जोगाउन वैचारिक स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।

सभामा उनले नेकपाले तारा चिन्हबाट मनोज भट्टराईलाई उम्मेदवार बनाएको उल्लेख गर्दै धरानको पुनर्निर्माणका लागि सक्षम, योजनाबद्ध र उत्तरदायी नेतृत्व आवश्यक रहेको बताए। कार्यक्रमका क्रममा उनले धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङप्रति संकेत गर्दै व्यक्तिगत लोकप्रियता भन्दा संस्थागत विकास र दिगो योजना महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।

सभामा युवा प्रतिनिधि युवराज अलौकिकले युवापुस्ताले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त नेतृत्वको अपेक्षा गरेको उल्लेख गर्दै मनोज भट्टराई युवाका लागि आशाको उम्मेदवार भएको बताए।

नेकपाका उम्मेदवार मनोज भट्टराईले जित–हारभन्दा ठूलो कुरा सत्य, न्याय, लोकतन्त्र र समुदायको हित भएको बताए । उनले भने, ‘म कसैलाई हराउन होइन, धरानको विकास र समृद्धि जिताउन उठेको हुँ ।’ उनले भूमिहीन, सुकुम्वासी, श्रमिक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुनसरी-१ लाई विकास, समृद्धि र सामाजिक न्यायको केन्द्र बनाउने बताए ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully