बिर्तामोडमा कार–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

बिर्तामोडबाट शैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

One dead, one seriously injured in car-motorcycle collision in Birtamod

झापा — झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुल नजिक भित्री सडक खण्डमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति करिब ९:२० बजे बिर्तामोडबाट शैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि  चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईंको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully