स्थानीयका अनुसार बिहान निर्माण सामग्री बोकेको हेभी गाडी पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेको हो ।
संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ । हेभी सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
स्थानीयका अनुसार बिहान निर्माण सामग्री बोकेको हेभी गाडी पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेको हो । पुल भत्किएसँगै नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।
उक्त मार्ग हुँदै प्रसिद्ध पर्यटकीय गन्तव्य मकालु बेस क्याम्प जाने–आउने गरिन्छ । पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ ।
घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । तर पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन सम्भव नरहेको बताइएको छ ।
डिएसपी मैनालीका अनुसार पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेषगरी कासुवा हाईड्रोपावरसँग मर्मत सम्भारका विषयमा छलफल भइरहेको उनले बताए ।
अरूण नदीमाथिको उक्त बेलिब्रिज मकालु क्षेत्रका बासिन्दाका लागि मात्र नभई पर्यटन र विकासका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । पुल भत्किएपछि स्थानीयवासीले स्थायी र सुरक्षित संरचना निर्माण गर्न माग गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली खटिएर थप विवरण संकलन तथा सुरक्षा व्यवस्थापनमा जुटिरहेको छ ।
