उक्त राइफल जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको प्रहरीले जनाएको छ ।
झापा — झापाको दमक नगरपालिका–६ थाना रोड नजिकै खाली जग्गाको झाडीमा जलेको अवस्थामा रहेको एक थान राइफल फेला परेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गामा गस्तीका क्रममा खटिएको प्रहरी टोलीले बिहीबार साँझ वाई१३४८७ नम्बरको मार्क–४ राइफल फेला पारेको हो।
प्रहरीका अनुसार राइफलको काठको भाग पूर्ण रूपमा जलेको छ भने सम्पूर्ण धातु भागमा खिया लागेको अवस्थामा छ । बरामद गरिएको हतियार इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको छ।
अनुसन्धानका क्रममा उक्त राइफल गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको कार्यालयको अभिलेखबाट पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
