पत्रकार आचार्यमाथि आक्रमण

प्रेस सेन्टरले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Attack on journalist Acharya

विराटनगर — चुनावी रिपोर्टिङका लागि झापा क्षेत्र नम्बर ५ पुगेका पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणको प्रेस सेन्टर मोरङले भर्त्सना गरेको छ। संस्थाले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ।

प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य, हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातोपाटी’ का संवाददाता आचार्यमाथि भएको दुर्व्यवहार र कुटपिटको घोर निन्दा गरिएको हो। झापाको कमल गाउँपालिकामा केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गरिरहेका बेला उनीमाथि आक्रमण भएको हो।

भिडियो खिचिरहेका आचार्यमाथि एमाले निकट ‘भोलेन्टियर्स फोर्स’ का कार्यकर्ताले हातपात गर्नुका साथै उनको मोबाइल र क्यामरा खोसेको विज्ञप्तिमा उल्लेख छ। बा २५६१ नम्बरको स्कर्पियोमा आएको समूहले अध्यक्ष ओलीकै उपस्थितिमा आचार्यमाथि कुटपिट तथा लुटपाट गरेको दाबी गर्दै प्रेस सेन्टरले घटनालाई ‘कायरतापूर्ण’ भनेको छ।

'पार्टी अध्यक्षकै सामुन्ने पत्रकारमाथि आक्रमण हुँदा पनि सुरक्षाकर्मी मौन रहनु, आक्रमणकारीलाई नियन्त्रणमा नलिनु र घटनाबारे सम्बन्धित पक्ष चुप लाग्नु अत्यन्त निन्दनीय छ,' विज्ञप्तिमा भनिएको छ। साथै, आक्रमणपछि पनि आचार्यको मोबाइल र चस्मा फिर्ता नभएकोप्रति समेत गम्भीर आपत्ति जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully